मिर्गौला रोगले जेठो बित्यो, माइलो अस्पतालमा छट्पटिँदै

खोटाङ, २४ साउन । दुवै मिर्गौला काम नलाग्ने भएपछि जेठा छोरा सुमनको १९ वर्षमै मृत्यु भयो । सुमनको काजकिरिया नसकिँदै माइला छोरा सोही रोगबाट जीवनमरणको दोसाँधमा पुगेका छन् । हुर्किसकेको एउटा छोराको मृत्यु हुनु र अर्को छोरा पनि सोही रोगले थलिँदा स्थानीय दिप्रुङ गाउँपालिका–२ डाँडागाउँका पदमबहादुर र मीना थापा पिडामा छन् । २०५५ सालमा जन्मिएका जेठा छोरा सुमनको स्वास्थ्यमा देखिएकै लक्षण माइलो छोरा सरोजमा पनि देखिएको छ ।

रोगले निक्कै च्यापेपछि अहिले माइलो छोरा सरोजलाई थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको छ । जेठा छोरा गुमाएको घाउ पुरिन नपाउँदै थापा परिवारमाथि फेरि उस्तै संकट दोहोरिन पुगेको छ । महेन्द्रोद्वय मावि ओख्रेडाँडागाउँबाट यसपल्ट एसइइ उत्तीर्ण गरेका सुमनको दुवै मिर्गौलाले काम गर्न छाडेपछि गत असार १६ गते मृत्यु भएको थियो । घरजग्गा बन्धकी राखेर उपचार गराए पनि थापा दम्पतीले जेठा सुमनलाई बचाउन सकेनन् ।

गाला दुख्ने समस्याबाट थलिएका सुमनको क्रमशः पेट दुख्ने, श्वास बढ्नेलगायतका समस्या थपिँदै गएर अन्तमा मृत्यु भएको आमा मीनाले बताउनुभयो । “रोगले च्याप्दै लगेपछि छोरालाई बचाउन धेरै अस्पताल चहा¥यौँ, तर बचाउन सकिएन ।” उहाँले भन्नुभयो, “छोरा पनि गुमाइयो, रु छ लाख ऋण पनि लाग्यो ।” आर्थिक अवस्था कमजोर भएका कारण जेठो छोरा गुमाएका थापा परिवारले माइला छोराको जीवन रक्षाका लागि आफन्त तथा शुभेच्छुकसमक्ष सहयोगको याचना गरेका छन् । “आफूसँग फुटेको कौडी छैन ।” आँखाभरि आँसु पार्दै आमा मीनाले भन्नुभयो, “आफ्नै आँखा अगाडि फेरी अर्को छोरा मरेको हेरेर म कसरी बाँचु !”

शिक्षण अस्पतालमा उपचार गराइरहेका ११ वर्षीय सरोज कक्षा ५ मा अध्ययनरत छन् । थापा परिवारसँग सरोजको उपचार गर्ने आर्थिक क्षमता नहुँदा हाल फेसबुकबाट ‘सरोज थापा बचाउ अभियान’ सञ्चालन भइरहेको छ । फेसबुक पेजबाट देश तथा विदेशबाट उपचार खर्च संकलन भइरहेको उनका ठूलोबुबा मनोज थापाले बताउनुभयो ।

एक रोपनी जग्गा भएका थापा परिवारले वर्षभरी खाने अन्न जुटाउन मेलापात र अर्मपर्म गर्दै आएका छन् । सरोजलाई आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावले उनकी आमा मीना थापालाई ९८६१९८५९७३ र उनका ठूलो बुबाको छोरा मनोज थापालाई ९८४०१६६३०५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *