“””भक्तपुरमा गाईजात्रा, पुष्ठभुमी र मनाउने विधि”””

साउन २४, काठमाडौं । अाज काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ गार्इजात्रा मनाइदै छ । गार्इजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

नामाकरण

गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर यो पर्व मनाइने भएकोले यस पर्वलाई गाई जात्रा भनिएको हो ।

ऐतिहासिक पृष्ठभुमि

ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ । यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमान ढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ ।

मनाउने विधि

सापारु भनेर मनाउने यस पर्व नेवारहरूको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ । हिन्दु धर्मअनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ ।

यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने चलन छ । गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोराजनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङक प्रकाशित गर्ने चलन पनि बढेको पाइन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ ।

भक्तपुरमा गाईजात्रा

हरेक ठाउँका गाईजात्रामा केही न केही विशेषता रहेका छन् । भक्तपुरमा पनि गाईजात्राका छुट्टै रौनक र आकर्षण रहेका छन । प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्व भक्तपुरमा आठदिनसम्म चल्दछ । गाईजात्रालाई नेपाल भाषामा सापारु भनिन्छ । गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगतआत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रममा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।

ताहामच्चालाई मृतकका घरको मुल ठोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराइ नगर परिक्रमा गर्ने गरिन्छ । ताहामच्चा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङ्गघिसी र माँक प्याखँ (बाँदर नाच) गाईजात्राको प्रमुख आकर्षण रहेको छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुक्ष्या बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङ्घिसी नाच भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ । भक्तपुरमा गाईजात्राको दिन र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङगात्मक नाटक साँस्कृतीक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट गाईजात्रा शुरु हुन्छ भने बेलुका पख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुन्छ । भक्तपुर जिल्लाकै ठिमीमा भने गाईजात्रापर्व राँको बालेर मनाइने चलन छ ।

अन्य ठाउँमा गाईजात्रा

गाईजात्राको मनाइने तरिका ठाउँ ठाउँमा फरक छन्। पाटनमा देखाइने सत्य युगको धान चामलको नमुना काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय छन् । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा धुलिखेल त्रिशूली दोलखा खोटाङ भोजपुर चैनपुर इलाम धरान विराटनगर वीरगन्ज हेटौँडा र पोखरामा मनाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =