युवा सङ्घका कार्यकर्ता एक करोड ठगी गरी फरार

लिलु डुम्रे, काठमाडौं । युवा सङ्घका गण्डकी अञ्चल सचिवालय सदस्य विष्णुप्रसाद  पाठकले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया हुँदै जर्मनी पठाइदिने भन्दै रकम उठाई गत कात्तिकदेखि फरार भएका छन् । वालिङ नगरपालिका १३ स्याङ्जाका पाठकले संयुक्त राष्ट्रसङ्घको स्वयम्सेवी कामदार बनेर दक्षिण कोरियामा तीन महिना र त्यसपछि जर्मनीमा काम गर्ने आश्वासन देखाई युवाहरूसँग पैसा उठाएका थिए । फरार पाठकले २० जना युवासँग प्रति व्यक्ति चार लाख तीन हजार रुपियाँ  उठाएका थिए । पीडित युवाहरूले सरकारी वकिलको रोहबरमा कागज गरी रकम बुझाएका थिए ।

गत वर्षको असार १५ मा विदेश उड्ने समयसीमा दिएको पीडितहरूले बताए । तर, पाठकले दिएको समयमा युवाहरू उड्न पाएनन् । पाठकले ढिलो होला तर काम हुन्छ भन्दै अल्झाइराखे । युवाहरूलाई विश्वास दिलाउन पाठकले चारवटा बैङ्कमा तीन महिनापछिको मिति राखी चेक पनि दिएका थिए । पाठकको शङ्कास्पद  गतिविधिले युवाहरूमा विदेश जाने मोह भङ्ग भयो । युवाहरूले पाठकसँग दिएको रकम फिर्ता माग्न सुरु गरे । पाठकले रकम फिर्ता दिनेगरी दुई महिनाको समय मागे । दुई पक्ष सहमत भई भदौ १५ मा रकम फिर्ता गर्ने समझदारी बन्यो । तर, भदाै १५ मा पाठकले पैसा फिर्ता गर्न सकेनन् । अन्तिम पटकलाई भन्दै कात्तिक १ लाई समय निर्धारण गरियो । अफसोच, पाठकको मोबाइल कात्तिक १ गतेको मध्यान्हबाट स्विच अफ भयो । पाठकले दिएको चेक बाउन्स भयो । पाठकद्वारा उठाइएको रकम र ब्याज गरी ९२ लाख ५० हजार रुपियाँ युवाहरूलाई चुक्ता गर्ने कागज गरेका थिए ।

कृषि पेसामा आश्रित युवाहरूले चर्को ब्याजमा खोजेको  रकम पाठकले खाएर फरार भएपछि पीडितहरू सरकारी निकाय जिल्ला प्रशासन, प्रहरी कार्यालय र पाठकको निवास धाउन थाले । तर, जिल्ला प्रशासन कार्यालयका निमित्त सीडीओ यमप्रसाद सुवेदीले पीडितहरूले जाहेरी दिएको जानकारी नभएको बताए । सुवेदीले ठगीको विषय वैदेशिक रोजगार विभागसँग सम्बन्धित रहेकाले विभागमा सम्पर्क गर्न युवाहरूलाई बताए ।

पाठकले आफ्नै दलका सदस्यहरूलाई पनि ठगेको भेटिएको छ । युवासङ्घ स्याङ्जाका अध्यक्ष दामोदर तिवारीले विभिन्न प्रलोभनमा पारेर आफ्नो  तीन लाख रुपियाँ ठगेको बताए । त्यस्तै, युवासङ्घका केन्द्रीय सदस्य भरत गोदारको छ लाख २० हजार रुपियाँ पाठकले ठगेका छन् । विभिन्न युवा तथा आफ्नै दलका कार्यकताको समेत रकम उठाई फरार भएका पाठकलाई युवा सङ्घले कारबाहीको प्रक्रिया अघि बढाएको  तिवारीले जानकारी दिए ।

ललितपुरमा अध्यापन गरिरहेका गुल्मी हर्मीचौरका रामप्रसाद  पाण्डेयका सहोदर दाजुभाइले पाठकका कारण करिब १२ लाख गुमाएका छन् । आफन्तको  विश्वास पीडामा बदलिएको भन्दै  पाण्डेयले दुःख व्यक्त गरे । फरार पाठकले स्याङ्जा, पाल्पा र गुल्मीका युवाहरूसँग रकम उठाएका थिए । संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा  आफ्नो दाइ कार्यरत रहेको बताउँदै उनले पैसा उठाउने गरेका थिए । मासिक कमाइ तथा खानबस्न राष्ट्र सङ्घको मापदण्ड अनुसारको हुने भन्दै युवाहरूलाई रोजगारीको झुठो प्रलोभनमा देखाएका थिए ।

पाठकले स्याङ्जा गल्याङका मिलन सापकोटा, नारायण भट्टराई, रमेश भट्टराई, सन्दीप ज्ञवाली र तिलकराम अधिकारीलाई ठगेका थिए । त्यस्तै, सोही ठाउँका गोविन्द अर्याल, हेमप्रसाद भट्टराई, मोतीलाल बस्याल, विष्णुप्रसाद न्यौपाने र केशव पाठकसँग पनि रकम लिएका थिए । पाठकले हुँगी पाल्पाका अमृत अर्याल, राजु अर्याल, गणेश पाठक, नारायण अधिकारी र छविलाल अर्याललाई पनि ठगेका छन् । स्याङ्जा सिर्सेकोटका भुपराज डुम्रे, फापरथुमका सुवास ढकाल, गुल्मी हर्मीचौरका रामप्रसाद  पाण्डेय र विष्णुप्रसाद पाण्डेय पनि पाठकद्वारा पीडित व्यक्तिहरू हुन् ।

पारिवारिक सम्बन्ध, व्यक्तिगत चिनजान र धेरै पटकको उठबस तथा आवतजावत पश्चात पाठकलाई विश्वाश गरी रकम दिएको पीडित मिलन सापकोटाले बताए । कलाकारितामा पनि लागेका सापकोटाले निकटको मित्रले ल्याएको प्रस्तावलाई नकार्न नसकेको बताए । आत्मीय बनेका पाठकको सम्बन्ध अभिशाप हुन पुगेको उनले बताए । उनले भने– माध्यम व्यक्ति  बनेका कारण आफन्तहरूसँग सम्बन्ध बिग्रने त्रास छ ।

स्रोत : रोतोपाटी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *