महिला–महिलाबीच प्रतिष्पर्धा हुने कानूनी व्यवस्था गर्न सरकारसँग माग

साउन २२, मकालु खबर । महिला सांसदहरुले प्रतिनिधि सभा निर्वाचनमा महिला–महिलाबीच प्रतिष्पर्धा हुने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन । व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनीहरुले महिला र पुरुषबीच हुने प्रतिष्पर्धाले महिलाहरुलाई न्याय नगर्ने पनि स्पष्ट पारेका छन । समितिको आईतबार बसेको बैठकमा पनि ‘प्रतिनिधि सभा सदस्यहरुको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ माथिको छलफल जारी छ । सोही छलफलमा भाग लिँदै सांसद सिता गिरी ओलीले महिला–महिलाबीच प्रतिष्पर्धा हुने कानूनी व्यवस्था गर्न विधेयक संशोधन गर्न सरकारसँग माग गर्नु भयो ।

समितिकी सदस्य डा. आरजु देउवा राणाले प्रत्यक्ष निर्वाचनमा लड्न महिलाहरु पनि समक्ष भएको उल्लेख गर्दै महिला– महिलाबीच प्रतिष्पर्धा हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु परेको बताउनु भयो । उहाँले संविधानमा १ तिहाई महिला सदस्य प्रतिनिधि सभामा निर्वाचित गराउनुपर्ने व्यवस्थालाई कार्यान्वयनमा लैजान पनि महिला–महिलाबीच प्रतिष्पर्धा गराउने गरी कानुनको व्यवस्था गर्न जोड दिइएको पनि स्पष्ट पार्नु भयो ।

समितिकी अर्की सदस्य गौरी कुमारी ओलीले महिलाहरुलाई ४० प्रतिशत आरक्षण सिटको व्यवस्था गर्नुपर्ने माग पनि गर्नु भयो । उहाँले महिला महिलाबीच हुने प्रतिष्पर्धाले प्रतिनिधि सभामा महिलाहरुको बलियो उपस्थिति हुने भएकाले सोही अनुसारको कानुनी व्यवस्था गर्न पनि माग गर्नु भयो । नयाँ संविधानमा प्रतिनिधि सभामा कम्तीमा १ तिहाई महिला सदस्य हुनैपर्ने व्यवस्था छ । महिला सांसदहरुले सो संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा ल्याउन पनि महिला महिलाबीच प्रतिष्पर्धा हुनेगरी विधेयक संशोधन गर्न सरकारसँग माग गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *