न देवीले हारेका हुन् न त रेणुले जितेकी हुन्

अाश्विनी काेइराला ।

न देवीले हारेका हुन् न रेणुले जितेकी हुन् l केवल नेपाली जनतालाई विभाजन बनाउन सफल भएका हुन् l पत्याउनु भएन, मेरा तर्क सुन्नुहोस l

एक

नेपाल भित्र र बाहिर दुई वटा यस्ता शक्ति छन्, जसले नेपालमा स्थिर राजनीति कायम होस् र विकसित होस् भन्ने चाहदैन । सानो मुलुक, पर्याप्त प्राकृतिक सौन्दर्यले भरिपूर्ण र दुई विशाल देशका बिचमा रहेको नेपालमा स्थिर राजनीति हुने बित्तिकै तुरुन्तै विकास र निर्यातमूलक व्यापार सुरु भैहाल्छ । यसो भयो भने यसको संवेदनशील भू राजनीतिको फाइदा लिन सकिँदैन । यसका लागि यहाँ कुनै पनि मूल्यमा यहाँ एउटा स्थिर राजनीतिक प्रणाली, थोरै राजनीतिक दल र नैतिकवान नेता सत्ताको केन्द्रमा पुग्नु हुँदैन । यसका लागि लोभी–पापी र स्वार्थी समूहलाई सहयोग पुग्नेगरी विभिन्न किसिमका काम हुन्छन् । उनीहरू चर्चामा ल्याइन्छन् र बिस्तारै सत्तामा पुर्‍याइन्छन् । र, निष्ठाको राजनीति गर्नेहरुलाई विभिन्न तरिकाले अवरोध खडा गरिन्छन् । एउटा मानिसले सक्रियरुपमा १०–१५ वर्ष मात्र राजनीति गर्न सक्ने भएकाले नैतिकवान मानिस स–साना अवरोधका कारण बिस्तारै पछि पर्छ र स्वार्थी समूहलाई विभिन्न किसिमले सहयोग गर्ने भएकाले उनीहरू क्रमशः: प्रगतिको सिंढी उक्लने भएकाले अन्तत: केन्द्रमा उनीहरू पुग्छन् र जसले माथि पुर्‍याए, उनीहरूकै योजना मुताविक प्रयोग हुन्छन् ।

दुई

खासमा पञ्चायती व्यवस्था आफैमा खराब होइन, खराब पञ्चहरु सत्तामा पुगेका कारण बद्नाम भएको हो । त्यो बेला जसले जङ्गल फडानी गर्‍यो, जसले भारतको इसारामा काम गर्‍यो, उही लामो समय प्रधानमन्त्री बनेको उदाहरण छ । बहुदलीय व्यवस्था नेपाली जनताको चाहानाले कम, मरिचमानले भोगेको नाकाबन्दीका कारण छिटो आएको हो । गिरिजाप्रसाद कोइराला पदका कतिसम्म लोभी थिए भने पटक पटक प्रधानमन्त्री भएर नपुगेपछि राष्ट्रपतिको आकाक्षा भएकाले देशमा गणतन्त्र आएको हो । नत्र माओवादी समेत संवैधानिक राजतन्त्रमा राजी भैसकेको थियो । अर्थात् पदमा पुग्न र त्यहाँ रहिरहन जस्तो सुकै निर्णय गर्न चाहाने मानिसका कारण नेपालको राजनीति अस्थिर भएको हो । त्यस्ता नेतालाई जनताले हटाउन सक्तैनन्, किनभने जनताले सजाय दिनुअघि नै त्यो मानिसको उमेर र राजनीतिकको कोर्स नै परिवर्तन भैसक्छ ।

तीन

इतिहासको अध्ययन गर्दा थाहा हुन्छ, जब पञ्चायतले विदेशी स्वार्थ पूरा गर्‍यो, विपी जस्ता दूरदृष्टि भएका नेताले नेतृत्व गरेको बहुदलीय व्यवस्था आउन सकेन । किनभने त्यो बेला विपीको विरोधमा माले खडा गरिएको थियो । जब पञ्चायतले विदेशी स्वार्थ पूरा गर्न सकेन, त्यही माले काँग्रेससँग मिलेर बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्था त्यो बेलासम्म राम्रोसँग टिक्यो, जब पुरै समाज कांंग्रेस र कम्पयुनिस्टमा विभाजन भैरह्यो । त्यो बेला कांग्रसको घरमा कम्युनिस्ट नजाने, कम्युनिस्टको घरमा काँग्रेस नजाने अवस्था थियो । त्यो बेलाका विद्वानले लेखेका लेखहरू पढ्दा म अहिले पनि छक्क पर्छु । जब, आम जनताले कम्युनिस्ट र काँग्रेस एउटै सिक्काको पाटो हुन्, दुवै दल देश र जनताको पक्षमा काम गर्न आएका हुन्, व्यक्ति मात्र खराब हुन् भन्ने बुझ्न थाले, माओवादी आन्दोलन जन्मन पुग्यो । आज जुन जुन माग माओवादीले उठाएको छ, त्यो आज काँग्रेस र एमाले सहमत भएको छ । यसको अर्थ ती कुराका लागि १० औँ वर्ष हजारौँ मानिस मार्ने आन्दोलन गर्नु पर्दैनथ्यो ।

चार

आज पनि धेरै माओवादी कार्यकर्तालाई लाग्छ, माओवादीले पहल नगरेको भए अहिलेको परिवर्तन सम्भव हुँदैनथ्यो । खासमा माओवादीको उद्देश्य संसदीय व्यवस्थाको अन्त्य र तल्लो वर्गको अधिनायकवाद ल्याउने थियो । तर अहिले संसोधित संसदीय व्यवस्थामै माओवादीले चित्त बुझाएको छ । खासमा माओवादी आन्दोलन त्यो बेलासम्म चल्यो, जबसम्म सदीयौंदेखि मिलेर बसेका नेपालीलाई जात र धर्मका आधारमा आफू फरक हुँ र आफूहरू फरक जात र धर्मकै आधारमा हामी पछि परेका हौ भन्ने पारियो । तर यसको पटाक्षेप नहुँदै माओवादी चलाएको ‘जनयुद्ध’ को औचित्य सकियो । किनभने संसदीय व्यवस्थाले नै विकास र तल पारिएका जनतालाई धर्मनिरपेक्षतामा सबै सहमत भए । विदेशीको चाहाना पूरा गरिएकै कारण आज हिजोका सबै (सत्ता पक्ष, सेना प्रहरी र माओवादी) अपराधीहरु आज सत्ताधारी भएका छन् । हिजो तल्लो वर्गको आदर्श राजनीति गर्छु भन्ने माओवादीहरू हिजोका संसदीय व्यवस्थाका नेताहरू भन्दा घिनलाग्दो काम गरिरहेका छन् भन्ने कुरा सबैलाई जगजाहेर नै छ । तर पछाडि पारिएका जनतामा कुनै परिवर्तन आएका छैनन् । जति परिवर्तन भएका छन्, ती यही संसदीय व्यवस्थाले बनाएको कानुन अन्तरगत नै भएका छन् । आखिर सामान्य कानुन परिवर्तन गर्दा हुने परिवर्तनका लागि किन दशक लामो अस्थिर राजनीतिको अवस्था सिर्जना गरियो ? किन २० औँ वर्ष स्थानीय निर्वाचन हुन दिइएन ? किन विकासका काम अघि बढ्न दिइएन ? संसारमा गलत काम गर्नेलाई आतङ्कवादी समूह भन्नेहरुले नै किन माओवादीका नेतृत्वलाई संरक्षण गरे ? आज माओवादीका कारण धर्मनिरपेक्षता, गणतन्त्र आएको सत्य हो । तर आज उनीहरू नै जनताका अघि किन बद्नाम छन्, त्यसको सोधखोज गर्ने हो भने तीन छक्क पर्ने तथ्यहरू फेला पर्छन् ।

पाँच

भरतपुरमा जे जस्ता नाटक भए, यो नाटक हेर्दा लाग्न सक्छ, यो काँग्रेस–माओवादी र एमालेबीचको जुँगाको लडाइँ हो । ती दलका कार्यकर्ताहरू पनि विरोधी दलका नेताहरूलाई यही जुँगाको लडाइँ ठानेर एक अर्कालाई सत्तोसराप गरिरहेका छन् । खासमा एउटा समान्य मेयरका लागि निर्वाचन आयोग, सर्वोच्च अदालत र प्रधानमन्त्री र गृहमन्त्री पद समेतलाई दुरुपयोग गर्नु पर्दैनथ्यो । मत पत्र च्यात्नेलाई कारबाही गरेर पुनः गणना गरे भई हल्त्यो l यसभित्र केवल मेयरको जीत र हारको कुरा मात्र छैन । नेपाली समाजलाई नेपाली राजनीति कति घिनलाग्दो छ भनेर देखाउनु छ । ताकि अर्को वैकल्पिक शक्तिलाई हिरो बनाउन सकियोस् । यसो गर्दा शक्तिशाली नेताहरूले कथंकदाचित आफ्नो पक्षमा काम गर्न अस्वीकार गर्न थाले भने बिस्तारै वैकल्पिक शक्ति देखाएर उनीहरूलाई ठेगान लगाउन सकियोस् ।

सानो देश, मेहेनती जनता र उब्जाउ जमिन हुँदा हुँदै लाखौँ जनता खाडीमा पुग्नु पर्ने अवस्था किन सिर्जना गरियो ? हिजो त्यत्रो लडाई लडेर आएका माओवादी लडाकुहरु हिजो परिवर्तनका लागि मान्छे मार्न समेत पछि पर्दैनथे । अहिले सामूहिक खेती, सहकारिमूलक विकास, निष्ठावान राजनीति गर्न उनीहरूलाई कसले रोकेको छ ? उनीहरूको लडाकुपन, निष्ठाको राजनीति र तल्लो वर्गको अधिनायकवादका लागि ज्यानको बाजी मार्नेसम्मको सोच कहाँ गयो ? उनीहरूको बलियो शरीर र तिखो दिमागमा कसरी बोसो लाग्यो ? यो कुरा कसैले सोचेको छ ?

भ्रष्ट मानिस, भ्रष्ट दिमाग र नैतिकता हराएका मानिसहरू मिलेका छन् र भरतपुर जस्ता धेरै घटना पर्दा अगाडि र पछाडि चलिरहहेका छन् । कुनै देखिएका छन्, कुनै नदेखिकन अघि बढिरहेका छन् । यता नैतिकवान मानिस त्यस्तै पार्टी र नेताको कार्यकर्ता भएर अर्को दलका नेतालाई गाली गरिरहेका छन् । यसको कारण के हो ? यो कुरा कसैले सोचेका छन् ?

भरतपुरको पक्ष र विपक्षमा धेरै कुरा भए, अब यो बहस बन्द गरौँ । होसपूर्वक आफ्ना वरपर हेरौं, कस्ता मानिसलाई हामीले साथ दिइरहेका छौँ ? कसलाई नेता मानिरहेका छौँ । न देवी ज्ञवालीले हारेका हुन् र रेणु दाहालले जितेकी हुन् । खासमा भरतपुरको निर्वाचन मार्फत हामी कतिसम्म भ्रष्ट समाजमा छौँ, कस्ता न्यायधीस यो समाजमा छन्, निर्वाचन आयोगमा कस्ता मानिस नेतृत्वमा पुगेका छन् । उनीहरूलाई कस्ता नेताले साथ दिएका छन्, उनीहरूले कस्ता मानिसलाई उमेद्वार बनाएका छन् र हामीले कसलाई जिताएका छौँ भन्ने कुरा मात्र बाहिर आएको हो ।

हामी दास हौँ । हामी भ्रष्ट हौँ । हामी केवल क्यारम्बोर्डका गोटी हौँ । आफ्नो चेतना नभएका पाल्तु जनावर हौँ । हामी अरूले चलाउने रिमोटबाट चल्ने पङ्खा हौ । हामी नेपाल नामको पिँचडामा थुनिएका यस्ता सुँगा हौँ, जो मिठो बोल्छौं तर के बोल्छौं हामी आफैलाई थाहा छैन ।

( अाश्विनी कोइरालाको फेसबुकबाट निकालिएको हो ।  )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *