खिम्तिमा खानेपानी, सडक र विद्युत एक हप्ताभित्र सुचारु गर्न गृहमन्त्रीको निर्देशन

रामेछाप, साउन २१ । गत असार ३१ गते मध्यराति रामेछापको लिखु गाउँपालिका ६ खिम्तिको छतिवने खोलामा आएको बाढीले अवरोध पु¥याएको खानेपानी, सडक र विद्युत एक हप्ताभित्र सूचारु गर्न गृहमन्त्री जनार्दन शर्माले स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज खिम्ति आउनुभएका मन्त्री शर्माले निरीक्षण पश्चात स्थानीय जनप्रतिनिधि र प्रशासनलाई यस्तो निर्देशन दिनुभएको हो । गृहमन्त्री शर्माले बाढि पहिरोबाट विस्थापित भएकालाई जग्गा किन्न २ लाख र घर बनाउन तीन लाख गरि विस्थापित प्रतिपरिवारलाई ५ लाख रुपैयाँ नेपाल सरकारले उपलब्ध गराउने पनि बताउनु भएको छ ।

बाढी पीडितलाई उपलब्ध गराउने ५ लाख रुपैयाँ रकम केन्द्रीय विपद् व्यवस्थापन समितिबाट निर्णय भएर निकासीको लागि पत्राचार भइसकेको भन्दै गृहमन्त्री शर्माले खानेपानी सडक र विद्युत प्रसारण लाइन मर्मतका लागि अपुग रकम सरकारले उपलब्ध गराउने पनि बताउनु भएको छ । खिम्तीको बाढीपहिरोले पु¥याएको क्षति र अवस्थाको बारेमा रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले मन्त्री शर्मालाई जानकारी गराउनु भएको थियो ।

यसैबीच, गृहमन्त्री शर्माले बाढी पहिरोमा परि मृत्यु भएकाका परिवारलाई १ लाख रुपैयाँ र विस्थापितलाई प्रतिपरिवार १० हजार रुपैयाँ वितरण गर्नु भएको छ । त्यसैगरी मन्थली नगरपालिका वडा १ का अध्यक्ष नारायणदाश श्रेष्ठले पनि बाढिपीडितलाई सहयोगार्थ ५० हजार रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई हस्तारण गर्नुभएको छ ।

गृहमन्त्रि शर्मा बाढिपहिरोले प्रभावित बनाएको क्षेत्रको अनुगमनको लागि आएकोमा खुशी व्यक्त गर्दै खिम्तीका स्थानीयले तत्काल समाधान गर्नुपर्ने समस्या उल्लेख गर्दै गृहमन्त्रीसमक्ष माग पत्र समेत पेश गरेका छन् । गएको असार ३१ गते मध्यराति लिखु गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको सिमानामा रहेको छतिवनी खोलामा आएको बाढीले २ जनाको मृत्यु भएको थियो भने ३ जना अझै बेपत्ता रहेका छन् । सो बाढीबाट २६ घरपरिवार विस्थापित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *