बैंक अफ काठमाडौंमा विवाद

साउन २०, काठमाडौं । एक जना सञ्चालकको ‘अत्तो’ का कारण बैंक अफ काठमाडौं (बिओके) का प्रमुख कार्यकारी अधिकृतमा शोभनदेव पन्तलाई नियुक्त गर्ने प्रस्ताव अघि बढ्न सकेको छैन । सञ्चालक समितिका आठ सदस्यमध्ये सात जना शोभनलाई नियुक्त गर्न सहमत भएपनि सञ्जयबहादुर शाहले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । भने, समितिमा विवाद  भएको अवस्थामा आफु नआउने भन्दै पन्तले नियुक्ति लिन मानेका छैनन् ।

समिति अध्यक्ष प्रकाश श्रेष्ठ लगायत अन्य सदस्य शाहलाई मनाएर पन्तलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिने प्रयासमा छन् । तर, शाहले सिभिल बैंक छाडेका किशोर महर्जनलाई ल्याउन चाहेको स्रोतले जानकारी दियो । अजय श्रेष्ठले राजिनामा दिएपछि बिओकेमा सिइओ पद खाली रहेको छ । लुम्बिनी बैंकसँगको मर्जर सफल पारेर एकीकृत कारोबारमा बिओकेलाई ट्र्याकमा ल्याएपछि गत साउन एक देखि श्रेष्ठले बैंक छाडेका थिए ।

अहिले बिओके अध्यक्ष रहेका प्रकाश श्रेष्ठ मर्ज अघि लुम्बिनीमा थिए । सोही कारण उनको टिमले लामो समय काम गरेका र विश्वासिला पन्तलाई ल्याउन खोजेका हुन् । लुम्बिनी समस्यामा परेका बेला कमान सम्हालेका पन्तले बैंक ट्र्याकमा ल्याएर बिओकेसँग मर्ज हुने निश्चित भएपछि छाडेका थिए । उनले एक दशक लुम्बिनीको नेतृत्व गरेका थिए ।
बैंक तथा वित्तिय संस्था सम्बन्धि नयाँ ऐनको प्रावधानका कारण बिओके सञ्चालक समितिका एक जना सदस्य हट्नु पर्ने हुन्छ । ऐनले सात जना मात्र सञ्चालक रहन सक्ने व्यवस्था गरेको छ । सञ्चालकबाट को हट्ने भन्ने रस्साकस्सीको विवाद सिइओ नियुक्तिमा सतहमा आएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seventeen =