सरकारले स्वाईन फ्लूका लागि औषधि उपचारको व्यवस्था गर्ने


“
साउन २०, मकालु खबर । सरकारले स्वाईन फ्लू रोगका लागि आवश्यक औषधि उपचारको व्यवस्था गरिएको जनाएको छ । देशका विभिन्न भागमा स्वाईन फ्लूको संक्रमण भईरहेका बेला स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विहिबार पत्रकार सम्मेलन गरी रोगको उपचारको व्यवस्था गरिएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महाशाखाका निर्देशक डा. भीम आचार्यले स्वाईन फ्लू रोगको उपचारका लागि औषधिको व्यवस्था गरिएको बताउनु भयो । उहाँले औषधि महंगो पर्ने भएकाले त्यसलाई निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको पनि स्पष्ट पार्नु भयो । निर्देशक आचार्यले रोगको पहिचान स्थानीय स्तरमा नभए केन्द्रमै सम्पर्क गर्न पनि सर्वसाधारणमा समेत अपिल गर्नु भएको छ ।
विभागले सय दशमलव ४ डिग्री भन्दा बढि ज्वरो आएमा स्वाईन फ्लू रोगको संक्रमण भएको हुन सक्ने उल्लेख गर्दै नजिकको स्वास्थ्य संस्थामा चेकजाच गराउन पनि अपिल गरेको छ । निर्देशक आचार्यले यो रोगबाट बच्न हातको सफाईमा विशेष ध्यान पनि आग्रह गर्नु भयो । नेपालमा यो वर्ष स्वाईन फ्लूबाट ६ जनाको ज्यान गएको सरकारी तथ्यांकमा उल्लेख छ । यो रोगको प्रकोप वर्षायामको सूरु तथा अन्त्य र जाडो यामको सूरु र अन्त्यमा देखिने गरेको छ ।
“
