निकास थुनिँदा वस्ती दुई सातादेखि डुबानमा

भक्तपुर, साउन १९ । सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी आर्ट अगाडिको वस्ती डुबानमा परेको छ । परम्परागत रुपमा सयौ वर्षअघिदेखि बग्दै आएको पानीको निकास टालिदिएपछि विगत दुई सातादेखि १० घर रहेको यहाँको वस्ती डुबानमा परेको हो । सडक विस्तारका क्रममा पानी निकासका लागि परम्परागतरुपमा बग्दै आएको स्थान मै ढल राखेर व्यवस्थित गरेपनि रातिको समयमा अज्ञात व्यक्तिले ढलभित्रै ढलान गरेर निकास बन्द गरिदिएपछि वस्ती डुबानमा परेको हो ।

वस्ती डुबानमा परेपछि घरमा ओहोरदोहोर गर्न समेत समस्या परेको र पानी पसेर विद्युत आपूति गडबड हुने डरले विद्युत्को लाइन नै बन्द गरेर बस्नुपरेको पीडित स्थानीय संगीता पोखरेलले बताए ।  दुई सातादेखि स्थानीयवासी संगीता पोखरेल, सुमित्रा कार्की, रमेशकुमार भट्टराई, उर्मिला थापा, निरन परियार, गोमा कर्णलगायतका १० वटा घर डुबानमा परेका छन् ।

उनले भने, “पुरानो नौ वडादेखिको पानी बगेर आउने गरेको तर निकास बन्द गरिदिएपछि बस्ती डुबानका परेको हो । डुबानका कारण दैनिक सास्ती खेप्नुपरेको छ ।” स्थानीयवासीले कसले निकास बन्द गराएको हो भन्ने थाहा नपाएको बताएका छन् । निकास खोल्न वडा कार्यालय र डिभिजन सडक कार्यालयमा आवेदन दिँदा पनि समस्याको समाधान नभएको उनीहरुको गुनासो छ ।

बिहीबर डिभिजन सडक कार्यालयका इन्जिनियरको टोलीले डुबान र निकास बन्दको अनुगमन गर्यो ।  डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले परम्परागत रुपमा बग्दै आएको पानीको निकास टालिदिएको पाइएको बताउँदै स्थानीय निकायलाई यो समस्याको समाधान गरिदिन आग्रह गरे । निकास खोल्न आवश्यक पर्ने मेसिन र सामग्री कार्यालयले उपलब्ध गराइदिने वचन उनले दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 18 =