गगनलाई शेखरको आग्रह– वीपीको आदर्श सम्झिँदै व्यक्तिवाद र स्वार्थ त्यागेर पार्टी सञ्चालन गर्नू

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस कमजोर हुँदा देशमा अराजकता बढ्ने भन्दै राष्ट्रिय मेलमिलापको सुरुवात काँग्रेसभित्रबाट गर्नुपर्ने बताएका छन् ।
बिपी कोइराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देश अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले मुलुकको वर्तमान अवस्था बिपी कोइराला र गणेशमान सिंहको समयको भन्दा सयौँ गुणा खराब अवस्था गुज्रिरहेको टिप्पणी पनि गरे । उनले राष्ट्रिय मेलमिलापको बहस अगाडि बढाउनुपर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि पार्टीभित्र सहमति, सहकार्य र एकता कायम गर्न जरुरी रहेको बताए ।
उनले नेपाली काँग्रेसको स्थापना नै निरङ्कुशता अन्त्य गर्नको लागि भएपनि अहिले पार्टीभित्रै हुकुमी शैली बढ्दै गएको तर्क गरे । उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै संसदको प्रभावकारितामाथि समेत प्रश्न उठाए । उनले सरकार र संसद कसरी चलिरहेको छ ? भन्नेकुरा थाहा पाउन फेसबुक स्ट्याटस हेर्नुपर्ने अवस्था रहेको बताए ।
उनले पार्टी सभापति गगनकुमार थापालाई बिपीको विचार र आदर्श सम्झिन आग्रह गर्दै व्यक्तिवादी चरित्र र स्वार्थ त्यागेर पार्टी सञ्चालन गर्न आग्रह समेत गरे ।








