कोलकाता–विराटनगर रेल सेवाः उद्योगी र व्यापारी हर्षित

काठमाडौं । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम हुने विश्वास व्यक्त गरेका छन् ।
विश्वका अन्य देशबाट उद्योगका लागि आयत गरिन कच्चा पदार्थलगायतका सामाग्री सडक मार्गको तुलनामा रेलमार्फत ल्याइदा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुने उनिहरुको भनाइ छ ।
मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले रेलमार्फत सामान आयात गरिदा लागत मात्र नभई समय पनि ठूलो बचत हुने बताए । उनले सबै कन्टेनरमा जडित विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम (इसिटीएस) का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी वा क्षतिको जोखिम अन्त्य हुने, सामान तथा रेलको निगरानी मोबाइलबाटै गर्न सकिने बताए ।
अध्यक्ष राठीले बन्दरगाहमा लाग्ने विलम्ब शुल्कलगायतका शुल्क घट्ने भएकाले पनि नेपाली उद्योगी–व्यवसायीलाई बहुआयामिक लाभ प्राप्त हुने जानकारी दिए । आगामी दिनमा उक्त सेवाको निरन्तरताले नेपालमा उत्पादिन सामाग्री भारत र तेस्रो मुलुक निर्यात गर्न समेत सस्तो र छिटो हुने अपेक्षा गरिएको छ । पछिल्लो समय कार्गो रेलका लागि विराटनगरमै कार्यालय खोली कन्टेनर उपलब्ध गराउन थालेपछि नेपाली उद्योगको अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता समेत सुदृढ हुने विश्वास गरिएको छ ।








