काँग्रेस इतर पक्षको भेलामा नेता गच्छदारले भने–‘काँग्रेसको आत्मा र भावना यहीँ छ’

काठमाडौँ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी सभापति गगनकुमार थापालाई असहमत पक्षलाई समेत सहमतिमा ल्याएर पार्टीलाई अघि बढाउन आग्रह गरेका छन् ।
बिपी कोइराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले निर्वाचन आयोग र अदालतले आफू नेतृत्वलाई वैधानिकता दियो भन्दैमा पार्टीमा फरक मत राख्ने नेता र पार्टीको इतिहासलाई सिद्ध्याएर अघि बढ्न नहुनेमा जोड दिए । उनले पार्टी निर्माणको लागि ठुलो त्याग र बलिदान गरेका नेताहरू संस्थापनइतर पक्षसँग रहेको दाबी पनि गरे । उनले काँग्रेसको आत्मा र भावना आफूहरूसँगै रहेको भन्दै यसलाई नजरअन्दाज नगर्न समेत चेतावनी दिए ।
उनले बिपी कोइरालाले प्रतिपादन गरेको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न समेत संस्थापन पक्षलाई आग्रह गरे ।








