लाल सागरमा हुथी विद्रोहीको कुनै चुनौती छैनः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनस्थित सशस्त्र समूह हुथीले हालैका दिनहरूमा लाल सागरमा कुनै पनि चुनौती खडा नगरेको बताएका छन् ।

मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यदि त्यस्तो कुनै परिस्थिति सिर्जना भए अमेरिकी सेनाले आवश्यक जवाफ दिने स्पष्ट पारेका हुन् ।

राष्ट्रपति ट्रम्पले भने, ‘अहिलेसम्म त्यस्तो केही भएको छैन। यदि केही भएमा हामी त्यसलाई सम्हाल्नेछौँ। अमेरिका र इरानबीचको द्वन्द्वका समयमा समेत उनीहरूले हामीलाई कुनै समस्या दिएका छैनन् । यदि कुनै समस्या आइपरेमा हामी त्यसको उचित व्यवस्थापन गर्नेछौँ ।’

यसैबीच, हुथी समूहले साउदी अरबका बन्दरगाहहरूसँग व्यापारिक कारोबार गर्ने अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरूलाई सैन्य कारबाहीको चेतावनी दिएको छ । साउदी अरब विरुद्ध सामुन्द्रिक प्रतिबन्धको घोषणा गरेसँगै हुथी समूहले आफ्नो रणनीतिलाई थप कडा बनाएको देखिएको छ ।

हुथी नियन्त्रित सान्नास्थित ‘मानवीय अपरेसन समन्वय केन्द्र’ ले जारी गरेको एक सूचनाअनुसार, साउदी अरबको झण्डा भएका जहाजहरू मात्र नभई साउदी बन्दरगाहमा सामान लोड वा अनलोड गर्ने जुनसुकै जहाजहरू पनि कारबाहीको निशानामा पर्न सक्नेछन् । हुथीले साउदी ढुवानीमा प्रतिबन्ध लगाएको केही घण्टापछि नै यस्तो चेतावनी सार्वजनिक भएको हो ।

अर्कोतर्फ, यमनको ‘प्रेसिडेन्सियल लिडरसिप काउन्सिल’ का अध्यक्ष रशाद अल–अलिमीले हुथी समूहको यस्तो धम्कीले लाल सागरको समग्र सुरक्षा र स्थायित्वमा गम्भीर असर पार्न सक्ने भन्दै सचेत गराएका छन् । लाल सागर अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिको एक महत्त्वपूर्ण मार्ग हो।

यस क्षेत्रमा हुने कुनै पनि अवरोध वा नाकाबन्दीले मध्यपूर्वमा तनाव बढाउनुका साथै विश्वव्यापी तेल आपूर्ति शृङ्खलालाई प्रभावित पार्न सक्ने विज्ञहरूको भनाइ छ ।

यसअघि गाजा युद्धका क्रममा हुथी विद्रोहीहरूले इजरायल र अमेरिकासँग सम्बन्ध रहेको आरोप लगाउँदै विभिन्न जहाजहरूमा क्षेप्यास्त्र, ड्रोन र नौसैनिक हतियार प्रयोग गरी आक्रमण गरेका थिए । सोही कारण धेरै ढुवानी कम्पनीहरूले आफ्ना जहाजहरूलाई लाल सागरको सट्टा वैकल्पिक र लामो मार्गबाट पठाउन बाध्य भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =