सिरहा ट्राफिकद्वारा एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ४१६ सवारी कारवाहीबाट एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।
आव २०८१/८२ मा ३२ हजार १५७ सवारी चालकमाथि गरिएको कारवाहीबाट रु दुई करोड ५१ लाख १९ हजार ५०२ राजस्व सङ्कलन गरेको थियो ।
त्यस अवधिमा सिरहा जिल्लामा आव २०८२/८३ मा भएको एक हजार २० सवारी दुर्घटना भएका थिए ।
ती दुर्घटनामा परी ६२ पुरुष, सात महिला र १२ जना बालबालिकाको मृत्यु भएको थियो भने एक हजार ६७६ जना घाइते भए ।
अघिल्लो आव २०८१/८२ मा सिरहामा ९६७ सवारी दुर्घटना हुँदा ६४ पुरुष, १४ महिला र ११ बालबालिकाको मृत्यु भएको थियो । ती घटनामा एक हजार ५५४ घाइते भएका थिए ।
सडक अवस्था, मानवीय लापरवाहीलगायतका कारण सवारी दुर्घटना केही बढे पनि विगतका तुलनामा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या त्यस आर्थिक वर्षमा घटेको प्रहरी निरीक्षक मरासिनीले बताए ।
पछिल्लो वर्षमा ट्राफिक सचेतना र नियमित जाँचका कारण सवारी दुर्घटनामा कमी आएको विश्वास गरिएको छ ।








