१६ राष्ट्रलाई पछि पार्दै ‘ग्लोबल डान्स लिग’मा नेपाललाई ३ स्वर्णसहित ४ पदक

काठमाडौँ । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पारेको छ ।

फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डजस्ता १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली टोलीले ३ स्वर्ण र १ रजत पदक जितेको हो ।

त्यहाँबाट कुरा गर्दै ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजले प्रतियोगितामा ‘एनडिए जुनियर’ ले जुनियर मेघा क्रु र टिन्स विधामा प्रथम स्थान हासिल गर्दै दुईवटा स्वर्ण पदक चुमेको बताए ।

साथै, जुनियर क्रु विधामा दोस्रो हुँदै सोही समूहले नेपाललाई रजत पदक पनि दिलायो । त्यस्तै, ‘टिम एनटी’ले लोक विधामा दमदार प्रस्तुति दिँदै अर्को स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भयो। खुला विधातर्फ भने नेपाल चौथो स्थानमा रहेको गहतराजले जनाए ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतियोगीहरूको मनमोहक प्रदर्शनले निर्णायक, कन्ट्री डाइरेक्टरदेखि उपस्थित दर्शक सबैको मन जितेको थियो । हलभित्र नेपालको राष्ट्रिय गान गुञ्जिँदा र राष्ट्रिय झन्डा फहराउँदा उपस्थित नेपाली प्रतिनिधिमण्डलको छाती गर्वले ढक्क फुलेको सो प्रतियोगिता हेर्न पुगेकी नेपाली नायिका परीक्षा लिम्बुले बताइन् । उनका अनुसार विश्वभरबाट आएका कला पारखीहरूले नेपाली डान्सरहरूको खुलेर तारिफ गरेका थिए ।

हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएर नेपाली टोली थाइल्यान्ड पुगेको हो । ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजको नेतृत्वमा गएको जम्बो टोलीमा टिम डिभिजन विजेता ‘टिम एनटी’, रनरअप ‘दि इननेट सउल’ र जुनियर टिम डिभिजन ‘एनडिए जुनियर’ सहभागी थिए । गत बुधबार साँझबाट सुरु भएको यस लिगमा विश्वभरका सयौँ उत्कृष्ट डान्सर, प्रशिक्षक तथा कोरियोग्राफरहरूको जमघट रहेको थियो ।

यसपटकको लिग नेपाली नृत्य क्षेत्रका लागि अर्को कारणले पनि विशेष बन्यो । नेपालका चर्चित डान्स डिरेक्टर तथा कोरियोग्राफर जेडी तमू प्रतियोगितामा निर्णायकको भूमिकामा थिए। विश्वस्तरको यति ठूलो मञ्चमा नेपाली निर्णायक पुग्नु आफैँमा एउटा महत्वपूर्ण उपलब्धि हो । जेडीसँगै प्रख्यात अमेरिकी पप स्टार जस्टिन बिबरको चर्चित गीत ‘सरी’की कोरियोग्राफर तथा न्युजिल्यान्डकी डान्सर काया पियर्सले पनि प्रतिस्पर्धीहरूको मूल्यांकन गरेकी थिइन् ।

विभिन्न देशका प्रतिष्ठित निर्णायकहरूसँगै नेपाली निर्णायकको उपस्थिति र डान्सरहरूको जितले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सान बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =