चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ: सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार तथा चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री तिमिल्सिनासँग ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरेको थियो । भेटका क्रममा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलगायतका कार्यक्रमले नेपाल–चीनबीचको सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध विस्तारका लागि हुने प्रवर्द्धनात्मक गतिविधिमा सरकारले सहयोग गर्ने बताए ।

उनले चलचित्र महोत्सवले नागरिकस्तरको सम्बन्ध विस्तार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आपसी हित र साझा लाभका आधारमा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

चिनियाँ पर्यटक नेपाल आउने क्रम उल्लेख्य रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने बताए ।

चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुले नेपाल चीनको घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गर्दै प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका कारण चलचित्र छायांकनका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको बताए ।

उनले अनुकूल वातावरणका कारण चलचित्र निर्माणसँगै सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन र नागरिकस्तरको सम्बन्ध सुदृढ गर्न नेपाल उपयुक्त स्थल भएको धारणा राखे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालका अनुसार ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ नेपाल र चीनबीच चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको द्विपक्षीय पहल हो ।

उनले महोत्सवले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण मञ्चका रूपमा काम गरिरहेको बताए ।

दाहालका अनुसार सन् २०२६ अप्रिल १४ देखि १९ तारिखसम्म चीनको हुनान प्रान्तस्थित चाङ्सा र हेङयाङमा आयोजना गरिएको महोत्सव नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७१औँ वर्षको अवसरमा सम्पन्न भएको थियो ।

महोत्सवका लागि नेपालबाट २३ वटा चलचित्र आवेदन परेकोमा ११ वटा प्रारम्भिक छनोटमा परेका थिए । त्यसपछि चिनियाँ सेन्सर प्रक्रियापछि ‘अञ्जिला’, ‘छक्का पञ्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल ३’ प्रदर्शनका लागि स्वीकृत भएका थिए ।

ती चलचित्र चिनियाँ सबटाइटलसहित चाङ्सा र हेङयाङका चलचित्र हलमा प्रदर्शन गरिएको थियो ।

महोत्सवमा पुरस्कृत चलचित्रहरूको पुरस्कार वितरण कार्यक्रम सोमबार चलचित्र विकास बोर्ड, काठमाडौंमा आयोजना हुने अध्यक्ष दाहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =