पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान

जनकपुरधाम । धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित धनुषाको धनुषाधाम क्षेत्र पछिल्लो समय हरियाली, दुर्लभ वनस्पति, शान्त वातावरण र प्रकृतिको अनुपम सौन्दर्यले नयाँ पहिचान निर्माण गर्दै गएको छ ।
केही वर्ष अघिसम्म पर्यटकहरूको खासै ध्यान पुग्न नसकेको धनुषाधामस्थित धनुषाधाम वनस्पति उद्यानको प्रवेशद्वारभित्र पस्नेबित्तिकै यतिबेला वातावरण फेरिएको अनुभूति हुन्छ ।
सहरको कोलाहलबाट टाढा, चराचुरुङ्गीको मधुर स्वर, रुखका पातहरूबीच सलबलाउने हावा, फूलहरूको सुगन्ध र हरियालीको शीतल स्पर्शले आगन्तुकलाई प्रकृतिको काखमा पुगेको अनुभूति गराउँछ ।
केही क्षणमै लाग्छ यो केवल एउटा उद्यान मात्र होइन, प्रकृतिले आफ्नै हातले सजाएको जीवित संग्रहालय हो ।
हरियाली वन, दुर्लभ वनस्पति, रङ्गीन फूलबारी, शान्त वातावरण, जडीबुटीका बिरुवा, कृत्रिम जलाशय, अध्ययन तथा अनुसन्धानका लागि निर्माण गरिएका विषयगत वाटिकाहरू र प्रकृतिसँग रमाउने वातावरणले सो वनस्पति उद्यान अहिले धार्मिक पर्यटकसँगै विद्यार्थी, अनुसन्धानकर्ता, प्रकृतिप्रेमी तथा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
धनुषाधाम सदियौंदेखि धार्मिक आस्थाको केन्द्र रहँदै आएको छ । त्रेतायुगमा भगवान् शिवको धनुषको एउटा अंश यहीँ खसेको धार्मिक विश्वासका कारण प्रत्येक वर्ष हजारौं श्रद्धालु यहाँ दर्शन गर्न आउँछन् ।
विवाहपञ्चमी, रामनवमी, मकर सङ्क्रान्तिलगायतका पर्वमा त धनुषाधाम श्रद्धालुले भरिभराउ हुन्छ । पछिल्ला वर्षहरूमा तीर्थयात्रीहरू केही समय वनस्पति उद्यानमा बिताउँछन्, प्रकृतिसँग साक्षात्कार गर्छन् र हरियालीको बिचमा नयाँ ऊर्जा लिएर फर्किन्छन् ।
जनकपुरधामबाट करिब १८ किलोमिटर पूर्वमा रहेको धनुषाधाम पुग्ने जो कोहीले धार्मिक स्थलको दर्शनसँगै धार्मिक स्थलबाट करिब १०० मिटरको दूरीमा रहेको वनस्पति उद्यानमा केही समय बिताउँदा प्रकृतिको अनुपम आनन्द लिने गरेको स्थानीय रामसेवक दास बताउछन् । ‘पहिला पहिला धनुषाधाम दर्शन गर्न आउने श्रद्धालुहरू मन्दिरमा दर्शन गरेर फर्किन्थ्यो’, दास भन्छन्, ‘तर पछिल्लो समय श्रद्धालुहरू मन्दिरको दर्शनपश्चात् वनस्पति उद्यान समेत पुग्ने गर्दछन् ।’
वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालित सो वनस्पति उद्यान संरक्षण, अनुसन्धान र वातावरणीय शिक्षाको उद्देश्यले स्थापना गरिएको भए पनि मधेस प्रदेशकै सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
केही वर्ष अघिसम्म थोरै मात्र पर्यटकहरू आउने गरेकोमा पछिल्लो केही वर्षदेखि आन्तरिक र बाह्य पर्यटकहरू आउने क्रम बढेको वनस्पति उद्यानका कर्मचारी सुरेश भण्डारी बताउछन् ।
‘पहिला मुस्किलले दैनिक १० देखि २० जना सम्म मात्र पर्यटकहरू आउने गरेकोमा अहिले दैनिक ३०० देखि ४०० को हाराहारीमा पर्यटक वनस्पति उद्यान घुम्न आउने गरेका छन्’, भण्डारी भन्छन्, ‘धेरैजसो आन्तरिक र भारतीय पर्यटकहरू आउने गर्छन् ।’ साथै, विभिन्न विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू समेत अध्ययन अवलोकनका लागि आउने गरेको भण्डारीको कथन छ ।
उद्यान अवलोकनका लागि आउने पर्यटकसँग अहिले कुनै शुल्क नलिने गरेकामा अबदेखि शुल्क लिन मन्त्रालय र विभागबाट पत्र प्राप्त भएकाले शुल्क निर्धारण हुने भण्डारी बताउछन् ।
प्रकृतिसँग रमाउन चाहनेका लागि उद्यान अहिले उत्कृष्ट गन्तव्य बनेको छ । बिहान स्वास्थ्यका लागि हिँड्ने समूह, अध्ययन भ्रमणमा आएका विद्यार्थी, परिवारसँग घुम्न आएका अभिभावक, मोबाइल क्यामेरामा सुन्दर दृश्य कैद गर्ने युवा र अनुसन्धानमा जुटेका वनस्पतिविद् सबैलाई यहाँ भेटिन्छ । ‘वनस्पति उद्यानभित्र दुर्लभ तथा लोपोन्मुख वनस्पतिका सयौं प्रजाति संरक्षण गरेका छौं’, वनस्पति उद्यानका प्रमुख ताहिर हुसेन भन्छन्, ‘औषधीय जडीबुटी, बहुवर्षीय वृक्ष, जलीय वनस्पति, फर्न, सजावटी फूल तथा विभिन्न स्थानीय प्रजातिले उद्यानलाई जैविक विविधताको जीवित पाठशाला बनाएका छौं ।’ उद्यानमा आउने जो कोहीको मन प्रफूल्लित र नयाँ ऊर्जा प्राप्त भएको महसुस गर्ने गर्दछ, प्रमुख हुसेन बताउछन् ।
वि.सं २०५६ मा स्थापना भएको उक्त उद्यानको विशेष आकर्षण भनेको विषयगत वाटिकाहरू हुन् । औषधीय जडीबुटी वाटिकामा राखिएका बिरुवाहरू केवल हेर्नका लागि मात्र होइनन्; तिनले परम्परागत उपचार पद्धति, आयुर्वेद र स्थानीय ज्ञानको इतिहास पनि बोकेका छन् ।
प्रत्येक बिरुवासँग राखिएको वैज्ञानिक परिचयले विद्यार्थी र अनुसन्धानकर्तालाई प्रत्यक्ष सिकाइको अवसर दिँदै आएको छ ।
करिब १२० हेक्टर क्षेत्रफलमा फैलिएको वनस्पति उद्यानभित्र विभिन्न विषयगत वाटिकाहरू स्थापना गरिएको प्रमुख हुसेन बताउछन् ।
उनका अनुसार उद्यानभित्र धार्मिक बाटिक, नक्षत्र बाटिका, जडीबुटी शैक्षिक बाटिका, जल उद्यान, धनुष बाटिका, जलीय वनस्पति उद्यान, फुल उद्यान, ‘ट्याक्सोनोमिकल फेमिली बाटिका’लगायतका संरचना निर्माण गरिएको छ ।
व्यवस्थापन गरिएको प्रत्येक बाटिका र उद्यानभित्र सम्बन्धित विषयका वनस्पति तथा जडीबुटीका बिरुवा लगाइएको छ । ‘धार्मिक बाटिकामा धर्म र संस्कृतिसँग जोडिएको वृक्ष र नक्षत्र बाटिकामा २७ वटा नक्षत्रको बिरुवा, १२ वटा राशी र नौ वटा ग्रहका बिरुवाहरू संरक्षित गरेका छौँ’, प्रमुख हुसेन भन्छन्, ‘जलीय वनस्पति बाटिकामा विभिन्न जलीय वनस्पतिहरूको संरक्षण गरेका छौंँ ।’
साथै, जडीबुटी शैक्षिक बाटिकामा विद्यार्थी तथा अध्ययनकर्ताहरूको अध्ययन गर्ने प्रजातिका बिरुवाहरू संरक्षित गर्दै वनस्पतिभित्र वैज्ञानिक अध्ययन तथा शैक्षिक प्रयोजनका लागि दुर्लभ तथा लोपोन्मुख वनस्पतिहरूको संरक्षण तथा प्रदर्शनी प्लटहरूको व्यवस्थापन गरिएको प्रमुख हुसेनको भनाइ छ ।
उद्यानमा हाल २७६ वनस्पति प्रजातिहरूको संरक्षण गरिएको छ । जसमा ७४ रुख, ४८ बुट्यान, १३४ झारपात र २० लहरे प्रजातीको वनस्पति संरक्षण गरिएको छ । वनस्पति उद्यानमा अध्ययन र अवलोकनका लागि आउने विद्यार्थी तथा अध्येताहरूलाई आवश्यक जानकारीका लागि सूचना केन्द्र व्यवस्थापनसँगै सुगन्धित जडीबुटी र वनस्पतिको तेल प्रतिशत निर्धारण गर्न केमष्ट्री ल्याब समेत स्थापना गरिएको प्रमुख हुसेनको भनाइ छ ।
सामाजिक सञ्जालको विस्तारसँगै धनुषाधाम वनस्पति उद्यानको परिचय देशभर फैलिन थालेको छ । यहाँ खिचिएका तस्बिर र भिडियोले धेरैलाई आकर्षित गरिरहेका छन् । परिणामस्वरूप, धार्मिक पर्यटकसँगै प्रकृतिप्रेमीहरूको आगमन पनि वनस्पति उद्यानमा बढ्दो क्रममा छ ।
उद्यानले पर्यटन मात्र होइन, वातावरणीय चेतना पनि फैलाइरहेको छ । जलवायु परिवर्तन, वन विनाश र जैविक विविधता संरक्षणका विषयमा यहाँ आउने विद्यार्थीले प्रत्यक्ष अवलोकनमार्फत सिक्ने अवसर पाइरहेका छन् ।
दुर्लभ वनस्पति संरक्षण किन आवश्यक छ भन्ने कुरा यहाँका प्रत्येक रूख, प्रत्येक बिरुवा र प्रत्येक हरियो पातले आफ्नै भाषामा बुझाइरहेका हुन्छन् । ‘पछिल्लो समय पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको वनस्पति उद्यानले यहाँको पर्यटन प्रबद्र्धनसँगै रोजगारीको वातावरण सृजना हुँदै गएको छ’, धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन भट्टराई भन्छन्, ‘यसमा स्थानीय सरकारको पनि सहयोग रहन्छ, हामी पनि सहयोग र समन्वय गर्न तयार छौँ ।’ उद्यानको संरक्षण, सम्बद्र्धनसँगै बहुउपयोगिता प्रबद्र्धनका लागि स्थानीय सरकारको हिसाबले नगरपालिकाको पनि सहयोग रहने उनको भनाइ छ ।
धनुषाधाम आउने पर्यटकको संख्या बढेसँगै स्थानीय अर्थतन्त्रमा पनि नयाँ सम्भावना देखिन थालेको छ । यहाँका होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय हस्तकला, कृषि उत्पादन तथा साना व्यवसायले पनि नयाँ ग्राहकसमेत पाइरहेका छन् । ‘यसले पर्यटन केवल घुमघामको विषय मात्र नभई स्थानीय समृद्धिको आधार पनि बन्नसक्छ भन्ने सङ्केत दिएको छ’ स्थानीय युवा सन्तोष मण्डल भन्छन्, ‘वनस्पति उद्यानप्रति बढ्दो आकर्षणले युवाहरू पर्यटनसँग सम्बन्धित सेवा र व्यवसायमा अवसर खोज्न थालेका छन् ।’
आधुनिक सूचना केन्द्र, डिजिटल गाइड प्रणाली, बाल उद्यान, साइकल ट्¥याक, प्रकृति पदमार्ग, व्याख्या केन्द्र, अनुसन्धान प्रयोगशाला तथा पर्यटकमैत्री सेवा विस्तार गर्न सके यसको आकर्षण अझ गुणात्मक रूपमा बढ्ने उनको भनाइ छ । ‘पहिला थोरै सङ्ख्यामा यहाँ आन्तरिक र बाह्य पर्यटकहरू आउनेगर्दथ्यो’, स्थानीय व्यवसायी शङ्कर साह भन्छन्, ‘तर अहिले पर्र्यटकहरुको आउने क्रम यहाँ बढेको छ, यहाँ विस्तारै होटलहरु खुल्न थालेका छन् ।’ उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी प्रचार–प्रसार गर्न सकिए धनुषाधाम वनस्पति उद्यान मधेस प्रदेशको मात्र होइन, पर्या–पर्यटनको गन्तव्य बन्नसक्छ ।
आज विश्वभर प्रकृतिमैत्री पर्यटनको आकर्षण बढिरहेको छ । मानिसहरू केवल घुम्न होइन, सिक्न, अनुभूति गर्न र प्रकृतिसँग केही समय बिताउन नयाँ गन्तव्य खोजिरहेका छन् ।
धनुषाधाम वनस्पति उद्यानले यही चाहनालाई सम्बोधन गर्ने सबै आधार बोकेको छ । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, जैविक विविधता, वातावरणीय शिक्षा र स्थानीय संस्कृतिको अद्भुत सङ्गमका कारण यसको महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ ।
यो उद्यान वास्तवमै एउटा हरियो उद्यान मात्र होइन; धेरैले प्रकृतिप्रतिको सम्मान, संरक्षणप्रतिको प्रतिबद्धता र दिगो पर्यटनको उज्ज्वल सम्भावनाको प्रतीकको रूपमा लिने गरेका छन् ।
यहाँ पुग्ने जो–कोहीले केवल हरियाली देखेर फर्कँदैन; उनीहरूले प्रकृतिप्रति नयाँ दृष्टिकोण, वातावरणप्रतिको जिम्मेवारी र पुनः फर्केर आउने चाहना पनि साथमा लिएर फर्किने गर्दछन् । यही अनुभूतिले यस उद्यानलाई मधेस प्रदेशको उदाउँदो पर्यटकीय गन्तव्य रूपमा हेरिन थालिएको छ ।








