रतुवा खोलामा बन्दैछ ‘ल्याण्डमार्क ब्रिज’, ५८५ मिटर लामो पुलको काम ५० प्रतिशतभन्दा बढी सम्पन्न

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका ठुला र लामा पुलहरूलाई ‘ल्याण्डमार्क ब्रिज’ का रूपमा विकास गर्ने सडक विभागको नीति अनुरूप झापाको रतुवा खोलामा आकर्षक पुल निर्माण जारी छ ।

काँकडभिट्टादेखि लौहीपुरसम्मको ९५ किलोमिटर सडक खण्डमा निर्माण भइरहेका ६ वटा ठुला पुलमध्ये ५ सय ८५ मिटर लामो रतुवा पुलको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको हो । कोरियाली परामर्शदाता कम्पनी ‘सोसुङ’ ले डिजाइन गरेको यो पुल आधुनिक ‘आर्च स्टिल ट्रस’ प्रविधिमा आधारित छ । पुलको कुल चौडाइ १६.५ मिटर रहने काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिले बताए ।

जसमा डबल लेनसहित सर्भिस लेन र फुटपाथको समेत व्यवस्था गरिएको र पुललाई कलात्मक र बलियो बनाउन ८७ देखि ९० मिटरसम्मका लामा स्पानहरू राखिएका उनले जानकारी दिए । उनकाअनुसार यसमा प्रयोग गरिएको ४१० र ४२० ग्रेडको उच्च गुणस्तरको स्टिल चीनबाट आयात गरिएको हो । पुल निर्माणका लागि आवश्यक स्टिलका सामग्रीहरू तयार गर्न निर्माण व्यवसायीले मोरङको उर्लाबारीमा उच्च प्रविधियुक्त ‘फ्याब्रिकेसन यार्ड’ स्थापना गरेका छन् ।

उक्त यार्डमा सीएनसी मेसिनमार्फत कम्प्युटराइज्ड कटिङ र नियन्त्रित वेल्डिङको काम भइरहेको छ । नेपालमै पहिलोपटक यति ठुलो आकारको ग्याल्भेनाइजेसन ट्याङ्क निर्माण गरी पुलका संरचनाहरूलाई खिया नलाग्ने बनाउने (ग्याल्भेनाइजेसन) काम भइरहेको छ । लोहेन्द्र, बक्रा र रतुवा खोलाका तीनवटा पुलहरूलाई एउटै प्याकेजमा राखेर ठेक्का लगाइएको छ । यी तीनवटै पुलको कुल निर्माण लागत करिब साढे ५ अर्ब रुपैयाँ रहेको छ ।

कोबेक, सीआरइजिसी र तुँदी जेभीले निर्माण गरिरहेको यस परियोजनामा स्टिलको काम चिनियाँ प्राविधिकहरूले र पिएससी गर्डरको काम नेपाली निर्माण कम्पनी तुँदीले गरिरहेका छन् ।सम्झौता अनुसार सन् २०२७ फेब्रुअरी २ सम्ममा पुलको निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

प्रजापतिका अनुसार वर्षा याममा चीनबाट स्टिल ढुवानी गर्न सडक अवरोधका कारण केही समस्या देखिए पनि अन्य प्राविधिक र समन्वयका कार्यहरू सुचारु रहेका छन् । विद्युतीय तार स्थानान्तरण लगायतका समन्वयका कामहरू सम्पन्न भइसकेका छन् ।

करिब ८० वर्ष आयु हुने अनुमान गरिएको यो पुलले आगामी ५० वर्षसम्मको सवारी चापलाई सहजै धान्न सक्ने प्राविधिकहरूको दाबी छ । हाल प्रयोगमा रहेको करिब ५० वर्ष पुरानो पुलको विकल्पमा यो नयाँ संरचना तयार भएपछि पूर्व–पश्चिम राजमार्गमा आवागमन थप सहज र सुरक्षित हुने विश्वास लिइएको प्रजापतिले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =