नेविसंघलाई काफ्लेको सुझाव: नेताको आदेश होइन, विवेकका आधारमा काम गर्नु

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्लेले पार्टी निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई नेताको आदेश मात्र पालना गर्ने प्रवृत्ति त्यागेर विवेकका आधारमा काम गर्न आग्रह गरेका छन् ।
आइतबार नेविसंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता काफ्लेले संगठन नेताको हुकुमी शैलीमा चल्ने प्रवृत्तिबाट बाहिर निस्कनुपर्ने बताए ।
उनले कार्यकर्ताले आफ्नो विवेकलाई बन्धक नबनाई संगठन सुदृढीकरण र लोकतान्त्रिक मूल्य मान्यताअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
‘तपाईंहरू नेताले जे भन्छन् त्यही मात्र गर्ने हुकुमी शासनजस्तो शैलीमा अघि बढ्नुभएको छ भने अब सुधारिनुहोस् । आफ्नो विवेकलाई बन्धक नराखी अघि बढ्न म नेपाल विद्यार्थी संघका साथीहरूलाई आग्रह गर्छु,’ उनले भने ।
काफ्लेले राष्ट्रियताको विषयमा सबै लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेविसंघले पनि सोही भावनाअनुसार भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले आन्तरिक लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने उल्लेख गर्दै संगठनलाई लक्ष्यप्रति इमानदार भएर अघि बढ्न आग्रह गरे ।
नेता काफ्लेले आगामी साउन ६ गते मनाइने बीपी स्मृति दिवसको कार्यक्रम प्रभावकारी बनाउन तत्काल एक जना कार्यक्रम संयोजक तोक्न र प्रत्येक कलेजमा समेत जिम्मेवारी बाँडफाँट गर्न निर्देशन दिए ।
‘साउन ६ गतेको बीपी स्मृति दिवस कार्यक्रमका लागि एक जना संयोजक तोक्नुहोस् । प्रत्येक कलेजमा पनि एक–एक जनालाई जिम्मेवारी दिनुहोस् । संयोजकले सबैसँग समन्वय गरेर काम गरेको अनुभूति दिलाउनुपर्छ,’ उनले भने ।
उनले नेविसंघका गतिविधिमा आफू निरन्तर साथ दिन तयार रहेको भन्दै आवश्यक परेको समयमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाल विद्यार्थी संघ अहिले साउन ६ गते मनाइने बीपी स्मृति दिवसको तयारीमा जुटेको छ ।








