लोकतन्त्र र समावेशितामा सम्झौता नगरी संविधान संशोधन गर्न सकिन्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन प्रवर्द्धनका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा कुनै पनि किसिमको सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे ।
उनले समावेशितालाई अझ व्यापक र सुदृढ बनाउने विषयमा कांग्रेसको पूर्ण समर्थन रहने बताए । तर नागरिकले प्राप्त गरेका अधिकार कटौती गर्ने वा समावेशितालाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो ।
संविधानका अन्य पक्षमा भने छलफल र परिमार्जन गर्न सकिने उनले बताए । विशेषगरी शासकीय स्वरूपका विषयमा भइरहेको बहसप्रति संकेत गर्दै थापाले यसबारे खुला छलफल गर्न कांग्रेस तयार रहेको बताए ।
‘सुशासनको दृष्टिकोणबाट पनि संविधान संशोधन आवश्यक छ । यस विषयमा नेपाली कांग्रेस स्पष्ट छ । लोकतन्त्र कमजोर बनाउने वा लोकतान्त्रिक मूल्यमा सम्झौता गर्ने कुनै पनि प्रस्ताव हामीलाई स्वीकार्य छैन,’ उनले भने ।
सभापति थापाले समावेशितालाई थप सुदृढ बनाउने विषय स्वीकार्य भए पनि नागरिकले प्राप्त गरेका अधिकार कटौती गर्ने विषयमा सहमति हुन नसक्ने बताए ।
उनले संविधान संशोधनको बहससँगै शासकीय स्वरूपको विषय पनि उठ्ने उल्लेख गरे । पछिल्लो समय युवापुस्ता र विभिन्न राजनीतिक समूहबाट उठिरहेको ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ को मागबारे पनि छलफल गर्न सकिने उनको भनाइ थियो ।
‘शासकीय स्वरूपको विषयमा अहिले विशेषगरी युवापुस्तामाझ बहस भइरहेको छ । यसबारे मेरो आफ्नै अनुभवका आधारमा पनि केही धारणा छन्,’ उनले भने ।
सभापति थापाले नयाँ पुस्ता र नयाँ राजनीतिक शक्तिहरूले उठाउँदै आएका शासकीय स्वरूप परिवर्तनका मागलाई राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सम्बोधन गर्दै साझा निष्कर्षमा पुग्न सकिने संकेत गरे ।








