राज्य निर्देशित अराजकता र नीतिहीनता बढ्योः ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको वर्तमान राजनीति दिशाहीन, नीतिहीन र विधिहीन ढंगले अघि बढिरहेको टिप्पणी गरेका छन् ।
आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मुलुकमा अराजकता र संवैधानिक मर्यादाको उल्लंघन भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले एमाले अहिले सडक र सदन गरी दुईवटा मोर्चाबाट संघर्षरत रहेको बताए । सडक आन्दोलनमा केही धक्का लागेको स्वीकार गर्दै उनले सडक र संसदीय संघर्ष एकअर्काका पूरक रहेको उल्लेख गरे ।
ओलीले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक र कानुनी बाटो भए पनि वर्तमान सरकारको प्रारम्भ नै षडयन्त्र र अराजकताबाट भएको दाबी गरे ।
‘हामी अहिले दुई मोर्चामा संघर्ष गरिरहेका छौँ । सडक संघर्ष र संसदीय संघर्ष । यी दुवै एकअर्काका पूरक हुन् । सडक आन्दोलनले केही धक्का खेपेको छ, तर त्यसलाई पुनः सशक्त बनाउँदै अघि बढ्नु पार्टीको जिम्मेवारी हो,’ उनले भने ।
अध्यक्ष ओलीले पछिल्लो समय लोकप्रियतावादका नाममा भद्दा प्रयास भइरहेको र त्यसले सामाजिक शिष्टतालाई चुनौती दिएको बताए । विशेषगरी सामाजिक सञ्जालको दुरुपयोगबाट गलत सूचना, भ्रम र चरित्रहत्या गर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो ।
उनले नेपालको राजनीतिमा अहिले दुई विचारबीच द्वन्द्व रहेको उल्लेख गर्दै हालको सरकारले आफूलाई आन्दोलन र परिवर्तनको उपजका रूपमा प्रस्तुत गरे पनि वास्तवमा असंवैधानिक आधारमा उभिएको आरोप लगाए ।
विगतमा प्रधानन्यायाधीशले सरकारको नेतृत्व गर्ने र संसद् विघटन हुने जस्ता घटनाले संवैधानिक पद्धतिलाई कमजोर बनाएको ओलीको तर्क थियो ।
उनले विश्व राजनीति नै अस्थिर र थितिहीन अवस्थामा पुगेको उल्लेख गर्दै नेपालमा पनि राज्य निर्देशित अराजकता र कानुनविहीनताको अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताए ।
लोकतन्त्रलाई जनमतबाट नभई अलोकतान्त्रिक विधिबाट निर्देशित गर्न खोजिएको आरोप लगाउँदै ओलीले संविधान, कानुनी शासन र लोकतान्त्रिक मूल्यको पालना गर्दै राजनीति अघि बढ्नुपर्ने बताए ।








