‘नेपाली कांग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल’

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि भइरहेका वार्ता र संवाद निष्कर्षविहीन भएपछि संस्थापन इतर पक्षले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
आइतबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका नेता मिन विश्वकर्माले संस्थापन पक्षसँग भएका संवादहरू सार्थक र उपलब्धिमूलक हुन नसकेको जानकारी दिए ।
नेता विश्वकर्माका अनुसार पार्टीभित्र एकता कायम गर्ने उद्देश्यले पटक–पटक छलफल भए पनि नेतृत्व तहबाट आवश्यक लचकता र तत्परता नदेखिँदा सहमति जुट्न नसकेको हो ।
इतर पक्षले पार्टी नेतृत्व (सानेपा कार्यालय) मा अधिकार केन्द्रित रहेको र समस्या समाधानका लागि आवश्यक धैर्यता, सहनशीलता तथा सकारात्मक पहल हुन नसकेको आरोप लगाएको छ ।
संवादहीनताको अवस्था लम्बिँदै गएपछि अब अन्योलमा नबसी नयाँ ढंगले अघि बढ्न राष्ट्रिय भेलाको निर्णय गरिएको नेता विश्वकर्माले बताए ।
‘झगडा कहिले अन्त्य हुन्छ भन्ने निश्चित हुँदैन । तर मेलमिलापको आशा भने सधैं रहन्छ । यही विश्वासका साथ वार्ता र छलफल भइरहेका छन् । तर आजसम्म ती छलफल सार्थक र उपलब्धिमूलक हुन सकेका छैनन्,’ उनले भने ।
उनले एकताको सम्भावना कमजोर बन्दै गएको निष्कर्षमा पुगेको उल्लेख गर्दै अब नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताए ।
इतर पक्षले आगामी साउन ६ गते पर्ने बीपी स्मृति दिवसलाई विगतमा झैँ निरन्तरता दिँदै मनाउने निर्णय गरेको छ । हाल सम्पर्क कार्यालयमार्फत गतिविधि सञ्चालन गरिरहेको उक्त समूहले आफ्ना एजेन्डालाई थप सशक्त रूपमा अघि बढाउने जनाएको छ ।








