निहारिका राजपुत र बिनु यादवद्वारा सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

काठमाडौँ । निहारिका राजपुत र बिनु यादवले शनिवार सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका छन् ।
गृहमन्त्री सुधन गुरुङसुँग आफ्ना समस्या अवगत गराउन खोज्दा अवरोध भएको भन्दै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घण्टी’ बजाएर प्रतीकात्मक विरोध जनाएका हुन् ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै निहारिका राजपुतले पत्रकार र मेयर हुँदा आफ्नो मुद्दामा साथ दिएका रवि लामिछाने र बालेन्द्र साह अहिले सत्ता र शक्तिमा पुगेपछि मौन रहेको आरोप लगाए ।
पीडितहरूले सिंहदरबार प्रवेशका लागि पास भएपनि प्रहरीले भित्र जान नदिएको र करिव चार घण्टासम्म बाहिरै कुराएको गुनासो गरे ।
धर्नाका क्रममा प्रहरीसँगको घर्षणमा आफ्ना लुगा च्यातिएको र शारीरिक चोट समेत लागेको उनीहरूको दाबी छ । निहारिकाले आफ्नो बलात्कारपछि जन्मिएको बच्चाको डिएनए परीक्षण, मिलापत्र स्वरूप भएको विवाह र त्यसपछि भोग्नु परेको घरेलु हिंसाका बारेमा उल्लेख गर्दै नयाँ सरकारबाट राखेको अपेक्षा निराशामा बदलिएको बताए ।
उनीहरूले गृहमन्त्रीले आफूहरूलाई बेवास्ता गर्दै पाँच वर्षीय बालकलाई समेत नाघेर गएको भन्दै आक्रोश व्यक्त गरे । आफ्ना मागहरूको उचित सम्बोधन र अनुसन्धान प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् ।








