गोल्डेन बुटको रोचक दौड : मेसीको अग्रता कायम रहला कि एम्बापेले अन्तिम खेलमा इतिहास लेखाउलान् ?

काठमाडौँ। फिफा विश्वकप २०२६ उपाधिको टुङ्गो लाग्न अब दुई खेल मात्र बाँकी छन्। तर उपाधि जत्तिकै चासोको विषय बनेको छ प्रतियोगिताको गोल्डेन बुट। अर्जेन्टिनाका कप्तान लिओनेल मेसी र फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापे अन्तिम खेलअघि शीर्ष स्थानमा छन्, र अब उनीहरूको बाँकी एक–एक खेलले सर्वाधिक गोलकर्ताको निर्णय गर्नेछ।

अहिलेसम्म मेसी र एम्बापे दुवैले ८–८ गोल गरेका छन्। फ्रान्सका उस्मान डेम्बेले तथा इङ्गल्यान्डका ह्यारी केन र जुड बेलिङ्घम भने पछाडि छन्। त्यसैले गोल्डेन बुटको वास्तविक प्रतिस्पर्धा अहिले मेसी र एम्बापेबीच सीमित भएको छ।

मेसीसँग अब स्पेनविरुद्ध विश्वकपको फाइनल खेल्ने अवसर छ भने एम्बापेले इङ्गल्यान्डविरुद्ध तेस्रो स्थानको खेल खेल्नेछन्। दुवै खेलाडीले एक–एक खेल खेल्न बाँकी रहेकाले एक गोलले पनि समीकरण पूर्ण रूपमा बदलिन सक्छ।

फिफाको नियमअनुसार गोल्डेन बुट सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइन्छ। यदि गोल सङ्ख्या बराबर भयो भने पहिलो टाई ब्रेकर ‘असिस्ट’ हुन्छ। ‘असिस्ट’ पनि बराबर भए सबैभन्दा कम मिनेटमा गोल गर्ने खेलाडी विजेता बन्छ। यही नियमका कारण सन् २०१० मा थोमस मुलरले डेविड भिल्ला, वेस्ली स्नाइडर र डिएगो फोर्लानसँग समान पाँच गोल हुँदा पनि गोल्डेन बुट जितेका थिए।

हालको अवस्थालाई हेर्दा मेसीसँग एम्बापेभन्दा एक असिस्ट बढी रहेको बताइएको छ। त्यसैले दुवैले अन्तिम खेलमा समान गोल गरे वा गोल गर्न नसके मेसी नै गोल्डेन बुट जित्ने अवस्थामा छन्। एम्बापेले उपाधि हात पार्न मेसीभन्दा बढी गोल गर्दै प्रतियोगिता समाप्त गर्नुपर्ने दबाबमा छन्।

यद्यपि एम्बापेका लागि आशा समाप्त भएको छैन। फ्रान्सले इङ्गल्यान्डसँग तेस्रो स्थानका लागि खेल्ने भएकाले खुला र आक्रामक खेल हुने अपेक्षा गरिएको छ। यस्ता खेलमा सामान्यतया गोलको सङ्ख्या बढी हुने भएकाले एम्बापेलाई गोल सङ्ख्या बढाउने अवसर देखिएको छ। अर्कोतर्फ मेसीले स्पेनको बलियो प्रतिरक्षा विरुद्ध फाइनल खेल्नुपर्ने भएकाले उनको चुनौती तुलनात्मक रूपमा कठिन मानिएको छ।

मेसीले गोल्डेन बुट जिते त्यो उनको पहिलो विश्वकप गोल्डेन बुट हुनेछ। एम्बापेले जिते भने उनले लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्ने दुर्लभ उपलब्धि हासिल गर्नेछन्। त्यसैले विश्वकपको अन्तिम दुई खेलले केवल विश्व च्याम्पियन मात्र होइन, प्रतियोगिताको उत्कृष्ट गोलकर्ताको नाम पनि तय गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =