२१ दिनदेखि अनशनरत सोनम वाङ्चुकलाई प्रहरीले जबरजस्ती अस्पताल पुर्‍यायो

एजेन्सी । सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई आमरण अनशनको २१औँ दिन स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएपछि शनिबार दिल्ली प्रहरीले सरकारी अस्पतालमा भर्ना गरेको छ ।

प्रहरीले यो कदम चिकित्सकहरूको सिफारिस तथा दिल्ली उच्च अदालतको निर्देशनअनुसार चालिएको जनाएको छ ।

नयाँ दिल्लीका प्रहरी उपायुक्त सचिन शर्माका अनुसार वाङ्चुकको स्वास्थ्यमा निरन्तर गिरावट आएपछि अदालतको आदेश पालना गर्दै उनलाई आवश्यक उपचारका लागि अस्पताल लगिएको हो । हाल उनी चिकित्सकहरूको निगरानीमा उपचाररत छन् ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा विशेषज्ञ चिकित्सकहरूको सल्लाह तथा अदालतको आदेशअनुसार वाङ्चुकलाई अत्यावश्यक उपचारका लागि अस्पताल सारिएको उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार केही प्रदर्शनकारीहरूले उनलाई अस्पताल लैजान अवरोध गर्ने प्रयास गरेपछि केहीबेर तनावको अवस्था सिर्जना भएको थियो । यद्यपि प्रहरीले संयमता अपनाउँदै उनलाई सफलतापूर्वक अस्पताल पुर्‍याएको जनाएको छ । साथै, प्रदर्शनकारीहरूलाई आन्दोलन अन्त्य गरी शान्तिपूर्ण रूपमा प्रदर्शनस्थल खाली गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

यस घटनापछि Cockroach Janata Party (CJP) का संस्थापक अभिजित दिप्केले सामाजिक सञ्जाल एक्स मार्फत प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको आरोप लगाएका छन् । उनले आफूलाई प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको दाबी गरेका छन् । अर्को पोस्टमा उनले प्रदर्शनकारीहरूलाई कुटपिट गर्दै वाङ्चुकलाई जबर्जस्ती लगिएको आरोप पनि लगाएका छन् ।

वाङ्चुक जुन २८ देखि NEET परीक्षामा भएको भनिएको अनियमितता तथा त्यससँग सम्बन्धित विद्यार्थीहरूको मृत्युको विरोधमा CJP ले सञ्चालन गरेको आन्दोलनको समर्थन गर्दै आमरण अनशनमा बसेका थिए ।

पछिल्ला तीन सातामा उनको स्वास्थ्य निरन्तर कमजोर बन्दै गएको चिकित्सकहरूले बताएका छन् । अनशन सुरु भएयता उनको तौल करिब ९.५ किलोग्राम घटेको छ भने रक्तचाप र रगतमा चिनीको मात्रा निरन्तर निगरानीमा राखिएको थियो ।

दिल्ली उच्च अदालतले वाङ्चुकको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी गर्दै आवश्यक परे तत्काल उपचार उपलब्ध गराउन निर्देशन दिएको छ ।

शुक्रबार राति सार्वजनिक भिडियो सन्देशमा वाङ्चुकले आफ्नो स्वास्थ्य अवस्था कमजोर बन्दै गए पनि अनशन जारी राख्ने अडान दोहोर्‍याएका थिए ।

‘२० दिनको अनशनमा मैले आफ्नो शरीरको २० प्रतिशत तौल गुमाइसकेको छु । प्याजको मूल्य बढ्दा सरकारहरू ढलेका उदाहरण छन् । अब यो सरकारले युवाहरूको आवाज सुन्ने समय आएको छ,’ भन्दै उनले विद्यार्थी आन्दोलनप्रति आफ्नो समर्थन पुनः व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =