दाङमा ७७ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । दाङमा साउनको पहिलो दिनसम्म ७७ प्रतिशत रोपाइँ भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीका अनुसार देउखुरी क्षेत्रमा अधिकांश खेतमा रोपाइँ भइसकेको छ ।

तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दङ्गीशरण, शान्तिनगर र बबईलगायत पालिकामा रोपाइँ जारी रहेको उनले जानकारी दिए । देउखुरी उपत्यकामा पर्ने लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिँचाइ सुविधा पुगेकाले ९८ प्रतिशत धान रोपाइँ भइसकेको कार्यालयले जनाएको छ ।

दाङ उपत्यकामा भने हालसम्म ६० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि प्रसार अधिकृत भण्डारीले बताए । उनका अनुसार सिँचाइ सुविधा पुगेको देउखुरीका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भए पनि आकाशे पानीको भरमा खेती हुने स्थानमा अझै रोपाइँ हुन बाँकी छ ।

लामो समय पानी नपरेर सुक्खा भएकाले जिल्लामा सञ्चालनमा आएका जलाशयबाट लिफ्टिङमार्फत पानी प्रयोग गरी समयमा ब्याड राखे पनि रोपाइँ गर्ने प्रयाप्त पानी नपुगेपछि ढिला भएको उनको भनाइ छ । केही दिनयतादेखि जिल्लामा लगातार भइरहेको वर्षाका कारण अहिले धमाधम रोपाइँ भइरहेको छ ।

वरिष्ठ कृषि प्रसार अधिकृत भण्डारीका अनुसार जिल्लामा कूल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३७ हजार २२५ हेक्टर क्षेत्रमा धानखेती हुने गरेको छ । जसमा सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टरमा धानखेती हुने गरेको जनाउँदै सबैभन्दा कम बङ्गलाचुली गाउँपालिकामा एक हजार १४३ हेक्टर क्षेत्रमा धानखेती हुने गरेको उल्लेख गरे ।

यसवर्ष धानखेतीमा आयातित हाइब्रिड बीउको प्रयोग बढी देखिएको छ । पछिल्ला केही वर्षयता किसानले उन्नत तथा स्थानीय जातका धानखेती गर्नसमेत थालेका छन् । केन्द्रका अनुसार यहाँका किसानले सावित्री, मनसुली, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायत वर्णशङ्कर जातका धान लगाएका छन् ।

कम पानी हुने ठाउँमा सुक्खा-१, सुक्खा-२, सुख्खा-३ जातका धानखेती गरेका छन् । स्थानीय जातमध्ये तिल्की र सिम्ठारो धान केही किसानले खेती गरिरहेका छन् । गतवर्ष दाङमा ३५ हजार ३२८ हेक्टर जमिनमा एक लाख ४४ हजार २६४ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =