दसैँ छेकोमा नेपालमा विदेशी सेना आउँछः दुर्गा प्रसाईं

काठमाडौं । व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले आगामी दसैँका बेला नेपालमा विदेशी सेना आउने दाबी गरेका छन् ।
आज काठमाडौंको एभरेस्ट होटलमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रसाईंले देश भूराजनीतिको चपेटामा परेको भन्दै आगामी दसैँका बेला नेपालमा विदेशी सेना आउने दाबी गरेका हुन् । ‘अब लगभग लगभग दसैँ छेकोमा विदेशी सेना उत्रिन्छन्’, उनले भने, ‘दलाई लामाले पनि त्यही विदेशी सेनालाई प्रोटेस्ट गर्छन् ।’
कार्यक्रममा बोल्दै प्रसाईंले देशको आर्थिक स्थिति अत्यन्त दयनीय अवस्थामा पुगेको तथा देश धेरै अप्ठेरो अवस्थामा पुगेको भन्दै सिंहदरबार र बालुवाटार अगाडी एकैदिन ५० जनाले आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
साथै उनले सहकारी र लघुवित्तको ऋणको बोझका कारण सर्वसाधारणले भोगिरहेका समस्याबाट मुक्त गराउन आफूले अभियान चलाएको दाबी गरे ।








