दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्: केपी ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन् ।
शुक्रवार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । ‘२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो । दरबार हत्याकाण्ड हुने बित्तिकै विश्वव्यापी रूपमा एउटा फैलियो, फलानो फलानोको लभ थियो, त्यो लभमा यस्तो भएको थियो, एउटा यस्तो रेडिमेड स्टोरी र दीपेन्द्र युवराज दीपेन्द्रले बाबु, आमा, भाइ, बहिनी, काका, काकीसहित वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वव्यापी रूपमा पुर्याइयो’ उनले भने ।
आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनी विश्वव्यापी रूपमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको उनको भनाइ छ ।
उनले दरबार हत्यकाण्डलाई दीपेन्द्रको प्रेमसँग जोडेर रेडिमेड कथा विश्वव्यापी रूपमा फैल्याइएको बताए । उनले दरबार हत्याकाण्ड कसले गर्यो? भन्नेकुरा अझै खुल्न नसकेको बताए । ‘२०औँ वर्ष त्यसले एकछत्र त्यो गलत सूचनाले राज गर्यो । सही सूचना के हो अझै थाहा छैन । बिना अध्ययन त्यो कथाको रचनाकार को हो ? त्यो पनि थाहा छैन । त्यो कथाको मूल वाचक को हो ? त्यो पनि थाहा छैन । तर एउटा कथा रचना भया र वाचन गरियो । त्यो एकैचोटी विश्वव्यापी रूपमा फैलियो । सबै विश्वका प्रमुख सञ्चार माध्यमहरूले त्यत्रो विशाल घटनाको सन्दर्भमा किञ्चित बुझ्नुपर्ने चासो राख्नुपर्ने कुरा केही ठानेनन् । बरु त्यही अफवाह बोकेर हिँड्न किन आवश्यक ठाने त्यो पनि अनौठो कुरा छ । वास्तवमा त्यो सूचना सही होइन’ उनले भने ।
अध्यक्ष ओलीले दरबार हत्याकाण्ड दीपेन्द्रले प्रेम असफल भएर गरिएको कथा त्यस षड्यन्त्रमा संलग्नले बनाएको टिप्पणी गर्दै आएका छन् ।








