ओलीको आरोप- सरकारले कानून उल्लङ्घन र अराजकताको नेतृत्व गरिरहेको छ

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समाजमा अराजकता मच्चाउने र कानुनको बर्खिलाप गर्ने कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सरकारको विरोध गर्ने युवालाई अध्ययन, रोजगारी तथा विदेश जाने अवसरबाट वञ्चित गरिने भन्दै त्रासको वातावरण सिर्जना गर्ने कार्य सरकारले गरिरहेको उनको आरोप छ । उनले मुलुकमा नागरिक स्वतन्त्रता खुम्चिँदै गएको तथा राज्यका अंग र निकायहरू समेत कार्यकारिणीको नियन्त्रणमा पुगेको टिप्पणी गरे ।

उनले सरकार कानूनी शासनको स्थापना गर्नुको सट्टा कानून र नियम मिच्ने कार्य गरिहो आरोप पनि लगाए । राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमले सरकारमाथि प्रभावकारी निगरानी र आलोचना गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

उनले भने ‘अहिले कोही युवाहरूले सरकारको विरोध गर्यो भने पढ्न पाउँदैनस्, विदेश जान पाउँदैनस्, विदेश गएर पढ्न पाउँदैनस्, जागिर खान पाउँदैनस्, इस्तिहार जारी हुन्छ । धम्काएर, तर्साएर, मान्छेलाई वशीभुत बनाउने ? मान्छेहरूलाई त्रासमा पारेर आज देश निसास्सिएको अवस्थामा छ । एउटा ऐँठनको अवस्था छ । कतिखेर कसलाई के हुन्छ ? भन्न सकिने अवस्था छैन । यस्तो पनि हुन्छ सरकार ? यस्तो पनि हुन्छ राज्य ? यस्तो पनि हुन्छ समाज ? समाज भाँड्ने, बिथोल्ने, समाजमा अराजकता मच्चाउने, समाजमा कानुन उल्लङ्घन गर्ने, कानुनको बर्खिलाप गर्ने कामको नेतृत्व सरकारले गरिराखेको छ । सरकारको काम त कानूनी राज स्थापना गर्ने हो । न्यायपूर्ण कानुन बनाउने संसदको काम हो । संसद सरकारबाट दमिच छ । दमिच संसदले सरकारी इच्छा अनुसारका चार घण्टामा बजेट छलफल गरेर पास गर्छ, दमिच पार्लियामेन्ट । राज्यका तिनै अङ्ग, राज्यका सबै विभाग सबैतिरको हालत त्यही छ । सबै कार्यकारिणी नियन्त्रित र कार्यकारिणीको इच्छाअनुसार चल्नुपर्ने अवस्था छ । राजनीतिक दलहरूले यसलाई तोड्नुपर्छ । दलहरूको समेत माइनस दृष्टि चाहिँ खतम छ । नजिकैको त ठिकै देख्छन् । दलहरू, नागरिक समाज, सञ्चारमाध्यम र खिसंगो समाजले अलि टाढा पनि देख्न सक्नुपर्यो । अगाडि हेरेर मात्र हुँदैन । नत्र भने सरकार बेलगाम ढङ्गले हिँड्छ, आलोचना गर्ने कोही भएन, सम्झाउने कोही भएन, भने सरकार त मैले राम्रै गरेछु भनेर बेलगाम अगाडि बढिरहला । अहिले सबै नागरिक वशीभूत भएर चुपचाप बस्ने हो भने देशको अवस्था अर्कै हुन्छ । देश फाँसीवादतर्फ उन्मुख हुँदै छ । जनतामा रुवाबासी छ ।’

उनले देश फाँसीवादतर्फ उन्मुख भइरहेको र जनतामा रुवाबासीको अवस्था रहेको टिप्पणी पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =