इजिप्टको वार्षिक माछा उत्पादन २० लाख टन नाघ्यो

एजेन्सी । इजिप्टले खाद्य सुरक्षा सुदृढ गर्ने प्रयास स्वरूप वार्षिक माछा उत्पादनमा उल्लेख्य वृद्धि गर्दै २० लाख टनको सीमा नाघेको छ । इजिप्टको मन्त्रिपरिषद् अन्तर्गतको सूचना तथा निर्णय समर्थन केन्द्रले जारी गरेको विज्ञप्तिमा यसको जानकारी दिइएको हो ।

विज्ञप्तिकाअनुसार एक दशकअघि करिव १५ लाख टन रहेको उत्पादनमा अहिले ठूलो सुधार देखिएको छ । उत्पादनको यो वृद्धिको मुख्य श्रेय मत्स्यपालन क्षेत्रको विस्तारलाई दिइएको छ । मत्स्यपालनबाट हुने उत्पादन मात्रै दोब्बरले वृद्धि भई १६ लाख टनभन्दा बढी पुगेको छ ।

यो वृद्धिसँगै इजिप्ट विश्वका १० ठूला मत्स्य उत्पादक राष्ट्रहरूको सूचीमा पर्न सफल भएको छ । इजिप्ट अफ्रिका महादेशको सबैभन्दा ठूलो माछा उत्पादक राष्ट्र बन्नुका साथै टिलापिया माछा उत्पादनमा विश्वभरमै तेस्रो स्थानमा रहेको छ । टिलापियाको वार्षिक उत्पादन मात्रै १० लाख ५० हजार टनभन्दा बढी हुने गरेको विज्ञप्तिमा उल्लेख छ ।

मत्स्यपालनमा भएको यस विस्तारका लागि देशका नौवटा प्रमुख तालहरूको पुनरुत्थानलाई मुख्य कारण मानिएको छ । ती तालहरूमा ड्रेजिङ गर्ने, अतिक्रमण र झारपात हटाउने तथा पानीको बहाव प्रणालीमा सुधार ल्याउने जस्ता कार्यहरू मार्फत उत्पादकत्व वृद्धि गरिएको हो ।

इजिप्टले सन् २०३०–२०३५ सम्ममा वार्षिक माछा उत्पादनलाई ३० लाख टनसम्म पुर्याउने लक्ष्य राखेको छ । यस योजनाले देशको खाद्य सुरक्षालाई थप मजबुत बनाउनुका साथै निर्यात वृद्धि र दिगो आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =