मेसी गोल्डेन बुटको शीर्ष दाबेदार, एमबाप्पेलाई उछिने

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिसँगै व्यक्तिगत अवार्डको दौडमा पनि अर्जेन्टिनाका कप्तान लियोनल मेसी बलियो अवस्थामा पुगेका छन् । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा दुई असिस्ट गर्दै उनले गोल्डेन बुटको होडमा फ्रान्सका किलियन एमबाप्पेलाई पछि पारेका छन् ।
अमेरिकाको एटलान्टामा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा अर्जेन्टिनाका दुवै गोलमा मेसीले असिस्ट गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले ।
मेसी र एमबाप्पे दुवैले प्रतियोगितामा ७ खेलबाट समान ८ गोल गरेका छन् । तर मेसीको नाममा ४ असिस्ट हुँदा एमबाप्पेको ३ असिस्ट मात्र रहेकाले फिफाको टाइब्रेकरअनुसार मेसी गोल्डेन बुटको दौडमा शीर्षस्थानमा उक्लिएका हुन् ।
एमबाप्पेको कप्तानीमा रहेको फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित भइसकेको छ । यद्यपि फ्रान्सले तेस्रो स्थानका लागि इंग्ल्यान्डसँग खेल्न बाँकी रहेकाले एमबाप्पेसँग आफ्नो गोल संख्या बढाउने एउटा अवसर अझै छ ।
गोल्डेन बुटको प्रतिस्पर्धामा रहेका अन्य खेलाडी भने मेसीभन्दा धेरै पछाडि छन् । नर्वेका एर्लिङ हालान्ड ७ गोलसहित तेस्रो स्थानमा रहे पनि उनको टोली बाहिरिसकेको छ । इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङघमले समान ६ गोल गरे पनि सेमिफाइनलबाट बाहिरिएसँगै उनीहरूको दाबेदारी समाप्त भएको छ । फ्रान्सका उसमान डेम्बेले ५ गोलका साथ दौडमा रहे पनि टोली बाहिरिएपछि उनको सम्भावना पनि सकिएको छ ।
फाइनलमा पुगेको स्पेनका मिकेल ओयारजाबाल ५ गोलसहित सूचीमा छन् । मेसीलाई उछिन्न उनले फाइनलमा असाधारण प्रदर्शन गर्नुपर्ने अवस्था छ ।
यदि फाइनलपछि पनि मेसी शीर्ष गोलकर्ताकै रूपमा रहे भने उनले आफ्नो करिअरमा पहिलो पटक फिफा विश्वकपको गोल्डेन बुट अवार्ड जित्नेछन् । यसअघि उनले सन् २०१४ र २०२२ मा विश्वकपको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने गोल्डेन बल अवार्ड जितिसकेका छन् । दुई पटक गोल्डेन बल जित्ने उनी हालसम्मका एकमात्र खेलाडी हुन्।
३९ वर्षको उमेरमा पनि उत्कृष्ट लयमा रहेका मेसीले यस विश्वकपमा नयाँ कीर्तिमानहरू पनि बनाइरहेका छन् । उनले लगातार ९ विश्वकप खेलमा गोल गर्ने तथा नकआउट चरणमा लगातार ६ खेलमा गोल गर्ने नयाँ कीर्तिमान कायम गरेका छन् ।
यस्तै, मेसी विश्वकप इतिहासमा सर्वाधिक ३३ खेल खेल्ने, सर्वाधिक २१ गोल गर्ने तथा सर्वाधिक ११ असिस्ट गर्ने खेलाडीका रूपमा पनि आफ्नो नाम स्थापित गरिसकेका छन् ।








