हारको निराशापछि बेलिङघमको आक्रोश, अर्जेन्टिनी खेलाडीलाई हाने थप्पड

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डको यात्रा टुंगिएसँगै टोलीका स्टार मिडफिल्डर जुड बेलिङघम विवादमा तानिएका छन् । अर्जेन्टिनासँग २–१ को हारपछि मैदानमा तनावपूर्ण अवस्था सिर्जना हुँदा उनले अर्जेन्टिनी डिफेन्डर भ्यालेन्टिन बार्कोको टाउकोमा पछाडिबाट थप्पड हानेको आरोप लागेको हो ।

बिबीसी रेडियोका विश्लेषक पल रोबिन्सनका अनुसार अर्जेन्टिनाले विजयी गोल गरेपछि मैदानबाहिर रहेका बार्को इंग्ल्यान्डको बेन्चअगाडि पुगेर जिस्किँदै खुसीयाली मनाइरहेका थिए । त्यसबाट आक्रोशित बनेका बेलिङघमले बार्कोमाथि हातपात गरेका हुन् ।

रोबिन्सनले उक्त घटनालाई ‘यस विश्वकपमा देखिएको भावनात्मक आवेगको सबैभन्दा खराब उदाहरण’ भन्दै टिप्पणी गरेका छन् ।

घटनापछि दुवै टोलीका खेलाडीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो । इंग्ल्यान्डका मोर्गन रोजर्सलाई समेत अन्य खेलाडीले तानेर झगडाबाट बाहिर निकाल्नुपरेको थियो ।

बेलिङघमले यस विश्वकपमा इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले प्रतियोगिताभर ६ गोल गर्दै टोलीका सबैभन्दा प्रभावशाली खेलाडीका रूपमा प्रदर्शन गरेका थिए । तर अर्जेन्टिनाविरुद्धको निर्णायक खेलमा भने उनी प्रभाव जमाउन सकेनन् ।

खेलका क्रममा बेलिङघम र अर्जेन्टिनाका कप्तान लिओनल मेसीबीच भएको भनाभनको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

इंग्ल्यान्डले अब शनिबार मियामीमा तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ भने अर्जेन्टिनाले आइतबार स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =