निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

फिक्कल । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको धार्मिकस्थल लारुम्बा जोड्ने आत्मानन्द मार्गअन्तर्गत माई –६ स्थित रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानको रु ३० करोड ६४ लाख ८४ हजारको लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिए ।
रु ३३ करोड ९८ लाख २२ हजार ५८९ मा ठेक्का खुलेकोमा निर्माण कम्पनीले रु ३० करोड ६४ लाख ८४ हजारमा सम्झौता गरी निर्धारित समयअगावै पुल निर्माण सम्पन्न गरेको हो । आयोजना प्रमुख मगरका अनुसार विसं २०७९ पुस ३० गते शान्ति निर्माण सेवासँग विसं २०८३ असार ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।
ठेकेदार कम्पनीले भने निर्धारित समयभन्दा अगावै काम सम्पन्न गरेको उनले जानकारी दिए । अन्य धेरै योजनामा पटकपटक म्याद थप गर्दा ठेकेदार कम्पनीले निर्माण कार्य सम्पन्न नगर्ने गुनासो आइरहेका बेला यस आयोजनाको काम निर्धारित समयअगावै सम्पन्न हुनु सकरात्मक पक्ष भउको आयोजना प्रमुख मगरले बताए ।
पुल सेक्टरका इन्जिनियर हरि मण्डलले २०० मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण सम्पन्न भएको जानकारी दिए । निर्माण सम्पन्न भएसँगै सो पुल सञ्चालनमा आएको छ । पक्की पुल निर्माण भएसँगै स्थानीयवासीलाई यात्रा गर्न सहज र सुरक्षित भएको छ । पुल नहुँदा वर्खामा खोलामा बाढी आउँदा आवतजावत पूर्ण रुपमा ठप्प हुने गरेको थियो ।
विशेषगरी बिरामी एवं गर्भवतीलाई अस्पताल पुर्याउन र विद्यार्थीलाई विद्यालय जानआउन समस्या हुने गरेको थियो । पक्की पुल निर्माण भएपछि दुई स्थानीय तहका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको माई नगरपालिका–६ का बुधराज योङहाङले बताए ।
“यसअघि पुल नहुँदा पानी पर्नसाथ वारिका मान्छे पारी जान र पारिका मान्छे वारी आउन समस्या हुने गर्दथ्यो”, योङहाङले भने, “पुल सञ्चालनमा आएपछि त्यो वर्षौंदेखिको समस्या सधैँका लागि अन्त्य भएको छ ।” पुल निर्माणपछि माङसेबुङका नागरिकहरु झापाको विर्तामोड एवं माई नगरपालिकामा नागरिक धार्मिक क्षेत्र लारुम्बा आवतजातवत गर्न सहज भएको माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूले जानकारी दिए ।








