आईसीसीले फेर्यो टी–२० र एकदिवसीय विश्वकपको ढाँचा, ‘सुपर १०’ लागू हुने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पुरुष टी–२० विश्वकप र एकदिवसीय विश्वकपको ढाँचा परिवर्तन गर्ने निर्णय गरेको छ । स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आईसीसी बोर्ड बैठकले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने उद्देश्यसहित नयाँ संरचना अनुमोदन गरेको हो ।
आईसीसीका अनुसार सन् २०२८ देखि हुने पुरुष टी–२० विश्वकपमा हालको ‘सुपर एट’ चरणको स्थानमा ‘सुपर १०’ लागू हुनेछ । समूह चरणमा २० टोलीलाई चार–चार टोलीका पाँच समूहमा विभाजन गरिनेछ भने प्रत्येक समूहका शीर्ष दुई टोली दोस्रो चरणमा पुग्नेछन् ।
दोस्रो चरणमा पुगेका १० टोलीलाई दुई समूहमा पाँच–पाँच टोलीका रूपमा विभाजन गरिनेछ । दुवै समूहका विजेता टोली सिधै सेमिफाइनलमा पुग्नेछन् भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच क्रसओभर इलिमिनेटर खेल हुनेछ । एउटा समूहको दोस्रो टोलीले अर्को समूहको तेस्रो टोलीसँग प्रतिस्पर्धा गर्नेछ र इलिमिनेटरका विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नयाँ ढाँचाअनुसार समूह चरणका खेल ४० बाट घटेर ३० मा सीमित हुनेछन् भने दोस्रो चरणका खेल १२ बाट बढेर २० पुग्नेछन् । साथै, प्रतियोगितामा दुई अतिरिक्त इलिमिनेटर खेलसमेत थपिनेछन् । आईसीसीले अन्तिम चरणसम्म प्रत्येक खेललाई अर्थपूर्ण बनाउन इलिमिनेटर प्रणाली समावेश गरिएको जनाएको छ ।
आईसीसीले सन् २०२८ को टी–२० विश्वकपका लागि नयाँ छनोट प्रणाली पनि स्वीकृत गरेको छ। सन् २०२६ को विश्वकप खेलेका तर स्वतः छनोट हुन नसकेका टोलीले सिधै ग्लोबल क्वालिफायर खेल्नेछन् । स्कटल्यान्डलाई भने विशेष व्यवस्थाअन्तर्गत युरोप क्षेत्रीय फाइनलमा सिधै प्रवेश दिइनेछ ।
ग्लोबल क्वालिफायरका बाँकी आठ स्थान क्षेत्रीय छनोटमार्फत पूरा गरिनेछन्। अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली छनोट हुनेछन् ।
आईसीसीले सहयोगी सदस्य राष्ट्रका लागि १६ टोली सहभागी हुने नयाँ विश्वस्तरीय प्रतियोगिताको अवधारणालाई पनि समर्थन गरेको छ। टी–२० विश्वकपअघि आयोजना गर्ने प्रस्ताव गरिएको उक्त प्रतियोगिताले सहयोगी राष्ट्रलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र विश्वकप तयारीको अवसर उपलब्ध गराउने विश्वास गरिएको छ ।
यद्यपि, प्रतियोगिताले अन्तिम स्वीकृति भने आगामी नोभेम्बरमा बस्ने आईसीसीको वित्त तथा व्यावसायिक मामिला समितिको समीक्षा पछि बोर्डबाट प्राप्त गर्नेछ ।
आईसीसीले १४ टोली सहभागी हुने पुरुष एकदिवसीय विश्वकपको ढाँचामा पनि परिवर्तन गरेको छ। अब समूह चरणअघि ‘सुपर सिरिज’ नामक नयाँ चरण समावेश गरिनेछ । आईसीसीका अनुसार यसले प्रतियोगिताको सुरुआती चरणका खेललाई थप प्रतिस्पर्धात्मक र अर्थपूर्ण बनाउने लक्ष्य राखेको छ ।








