सरकार सस्तो लोकप्रियतामा अल्झिँदा मुलुक बर्बादितर्फ जाँदैछः सांसद शाही

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा मात्र केन्द्रित हुँदा मुलुक विकासको सट्टा बर्बादीको दिशामा गइरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शाहीले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिका बारेमा सरकारले संसद्मा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।

राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएको गम्भीर विषयमा सरकार मौन बस्नु सान्दर्भिक नहुने तर्क गर्दै उनले सरकारको आधिकारिक धारणा नआएसम्म प्रतिपक्षको विरोध जारी रहने जानकारी दिए ।

सांसद शाहीले नेपाली जनताको मुख्य चाहना भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय रहेको उल्लेख गर्दै वर्तमान सरकार ती मुद्दाहरूबाट विचलित भएको आरोप लगाए ।

विगतका राजनीतिक दलहरूले केही गरेनन् भन्ने प्रचारबाजी गर्न सजिलो भएपनि वर्तमानले के गर्‍यो भन्ने प्रश्नको जवाफ दिन कठिन रहेको उनले बताए । इतिहास प्रचारबाट नभई कामबाट बन्ने जिकिर गर्दै उनले विगतका राजनीतिक दलहरूको योगदान इतिहासले नै मूल्यांकन गर्ने स्पष्ट पारे ।

सांसद शाहीले राज्यका संस्थाहरूलाई कमजोर पारेर व्यक्ति बलियो बन्ने प्रवृत्तिले लोकतन्त्रलाई खतरामा पार्ने चेतावनी दिए । सरकारले प्रतिपक्षको आलोचनालाई शत्रुताको रूपमा नलिई आफ्ना काममार्फत जवाफ दिनुपर्नेमा उनको जोड छ ।

सरकारका वर्तमान गतिविधिहरू अपरिपक्व र फितलो भएको टिप्पणी गर्दै उनले यसले जनतामा आशा होइन, अविश्वास मात्र पैदा गरिरहेको बताए । सांसद शाहीले चरम संस्थागत भ्रष्टाचारका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र राज्यको दोहन गरिएको सम्पत्ति ढुकुटीमा फिर्ता ल्याउन माग गरे ।

युवाहरूका लागि स्वदेशमै रोजगारी सिर्जना, उत्पादन वृद्धि र सुकुम्बासी लगायतका सामाजिक समस्याहरूको समाधानका लागि सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । मुलुकको विकास र समृद्धिको साझा एजेण्डामा सत्तापक्ष र प्रतिपक्ष सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘नेपाली जनताको मुख्य चाहना भनेको भौतिक विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय हो । जनताले त्यो खोजेका छन् । तर आज हाम्रो राजनीतिक मुद्दाभन्दा सस्तो लोकप्रियता र प्रचारमुखि गतिविधितर्फ बढी केन्द्रित भएका छौँ । यस्ता गतिविधिले देश बन्दैन देश बर्बादीको दिशामा जान्छ । यो विषयमा हामीले बेलैमा सोच्न जरुरी छ । विगतमा पनि त्यस्ता केही गतिविधिहरू भएका थिए । मुख्यगरी संविधान जारी भइसकेपछि एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने, संसदमा उग्र रूपमा गाली गलौजको तहमा उत्रिने जुन परिस्थिति सिर्जना भयो । यसले नेपालको राजनीतिक संस्कारमा केही फेरबदल आयो । अहिले पुराना राजनीतिक पार्टीहरूले केही गरेनन् । सबै बिगारे बर्बाद गरे भन्ने कुराको भाषण गर्न त सजिलो छ तर आज हामीले के गर्यौँ भन्ने प्रश्नको जवाफ जनतालाई दिनुपर्ने एकदमै गाह्रो विषय हो । अहिले सरकारको विषयमा प्रतिपक्षीहरूले जे कुराहरू उठाएका छन् त्यसलाई दुस्मनी ठान्ने र आलोचनालाई सहनै नसक्ने र प्रतिरोधमा उत्रिने भन्दा सरकारको मुख्य जिम्मेवारी भनेको सरकारका तमाम समस्याहरूको सम्बोधन गर्नु हो ।’

उनले प्रतिपक्षका आरोपको प्रतिरोधमा उत्रिनुभन्दा सुशासन र सेवा प्रवाह सुधारमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =