बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

काठमाडौं । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा ३० जनाको मृत्यु भएको घटनापछि उक्त स्थलमा आधारभूत सुरक्षा प्रणालीको अभाव रहेको एक स्वतन्त्र विज्ञले बताएका छन् ।

भवन निरीक्षक सङ्घका पूर्वअध्यक्ष वासावत कित्सिरितीराफाकले आइतबार भएको आगलागीपछि फरेन्सिक प्रहरीसँग मिलेर ‘रोङ बियर ना लात फ्राओ’ रेस्टुरेन्ट तथा बारको निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले सो स्थलमा ठूलो भीड र प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सञ्चालन भए पनि आवश्यक सुरक्षा व्यवस्था नरहेको बताए ।

“आगोबाट बच्ने आपतकालीन निकास मार्ग, चेतावनी प्रणाली र आपतकालीन तयारीजस्ता उपायले सम्भावित जनधनको क्षति कम गर्न सक्थ्यो,” उनले भने । प्रारम्भिक निरीक्षणका क्रममा आपतकालीन निकास सङ्केत, आपतकालीन बत्ती तथा फायर अलार्म उपकरण नदेखिएको उनले बताए । यद्यपि घटनाको विस्तृत मूल्याङ्कनका लागि सम्बन्धित निकायको थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।

थाइल्यान्डमा विशेषगरी बार र नाइटक्लबजस्ता मनोरञ्जनस्थलमा सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनबारे लामो समयदेखि प्रश्न उठ्दै आएको छ । सन् २००९ मा बैङ्ककस्थित ‘सान्तिका’ क्लबमा नयाँ वर्षको कार्यक्रमका क्रममा भएको आगलागीमा ६७ जनाको मृत्यु भएको थियो भने २०० भन्दाबढी घाइते भएका थिए । त्यस्तै, सन् २०२२ मा पूर्वी चोनबुरी प्रान्तको ‘माउन्टेन बी’ नाइटक्लबमा भएको आगलागीमा २५ जनाको मृत्यु भएको थियो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =