टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ । टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ ।

नगरप्रमुख प्रकाश अधिकारीले घर र सडक पहिचान गर्न सहज हुनेगरी तयार गरिएको ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को सोमबार शुभारम्भ गरे । नगरप्रमुख अधिकारीले टोखाले नगरपालिकालाई प्रविधिमैत्री नगरपालिकामा लैजानका लागि ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को सुरुआत गरेको जानकारी दिए ।

टोखा–९ बाट सुरु गरिएको उक्त प्रणालीलाई टोेखाका ११ वटै वडामा जडान गरिने उनको भनाइ थियो । उक्त प्रणाली जडान गरेसँगै घर ठेगाना सहजै पत्ता लगाउनका साथै विपद्को समयमा एम्बुलेन्स, दमकललगायतका उपकरण पठाउन सहज हुने नगरप्रमुख अधिकारीको भनाइ छ ।

उक्त प्रणालीले भौगोलिक स्थान र सडकको दूरीका आधारमा प्रत्येक घरलाई छुट्टै विशिष्ट पहिचान (घर नम्बर) प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका सूचना शाखा प्रमुख वसन्त पाठकले मेट्रिक ठेगाना प्रणालीमा सम्बन्धित सडकको सुरु विन्दुबाट घर कति दूरीमा छ, सोही आधारमा घरको ठेगाना निर्धारण गरिने बताए ।

यसले गर्दा अपरिचित व्यक्ति वा सेवा प्रदायकलाई कुनै पनि घर वा भवन सजिलै पत्ता लगाउन सहज हुनेछ । तीन वर्ष लगाएर गरिएको अध्ययनअनुसार टोखाभित्र २८ हजार ६४६ भवन, २६ हजार ६१६ घर र २९६ किलोमिटर सडक लम्बाइको नक्साङ्कन गरिएको छ ।

टोखामा २६ हजारभन्दा बढी घर भए पनि तत्कालका लागि १९ हजार घरमा उक्त प्रणाली लागू गरिने नगरप्रमुख अधिकारीले बताए । उक्त प्रणाली जडान भएसँगै एम्बुलेन्स, दमकल र प्रहरीलाई सम्बन्धित घरसम्म समयमै पुग्न सजिलो हुने, नक्सापास, राजस्व सङ्कलन र विपद् व्यवस्थापन जस्ता सेवाहरूलाई एकीकृत गरी थप प्रभावकारी बनाउन सहज हुने बताइएको छ ।

यसैगरी, व्यवसायीका लागि आवश्यक तथ्याङ्क उपलब्ध हुनुका साथै सामान डेलिभरी गर्न सहज हुनेछ । टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले टोखालाई आधुनिक र व्यवस्थित सहरको रूपमा स्थापित गर्नका लागि यस्ता प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =