संकटमा राज्यको शक्ति लाठीमा होइन, संयम र संवादमा हुनुपर्छः सुहाङ नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले चिकित्सकहरु लामो समयदेखि उचित पारिश्रमिक, सम्मानजनक श्रम र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको उल्लेख गर्दै उनीहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाल मेडिकल काउन्सिलको तथ्यांक उद्धृत गर्दै उनले नेपालमा वार्षिक रूपमा दर्ता हुने चिकित्सकको संख्याभन्दा बढी चिकित्सकले विदेश जान आवश्यक कागजात बनाउने गरेको पाइएको भन्दै चिन्ता समेत व्यक्त गरे ।
उनले न्युन पारिश्रमिक, लामो तथा अमानवीय कार्यघण्टा, बिदाको अभाव, रोजगारीको अनिश्चितता र श्रम शोषणका कारण चिकित्सक बाहिरिने क्रम बढ्दै गएको भन्दै त्यसतर्फ समेत सरकारको ध्यानाकर्षण गराए । एकातिर सरकारी अस्पतालमा बिरामीले सेवा लिन लामो समय कुर्नुपर्ने र अर्कोतर्फ विशेषज्ञ चिकित्सकले रोजगारी नपाउने अवस्था रहेको भन्दै उनले सरकारले जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।
उनले भने, ‘संकटको समयमा राज्यको शक्ति लाठीमा होइन संयम, संवाद र अभिभावकत्वमा हुनुपर्दछ । तर यहाँ कस्तो देखियो भने माईतीघर मण्डलामा दुई वटा समूह अहिले पनि आन्दोलनमा बसिरहनुभएको छ । माईतीघरमा आज पनि चिकित्सकहरु उचित पारिश्रमिक, सम्मानजनक श्रम र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा हुनुहुन्छ । सरकारको त्यसतर्फ ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु ।’
उनले सुकुम्बासी नागरिकलाई उचित वैकल्पिक व्यवस्थापन नगरि होल्डिङ सेन्टरबाट हटाउन नमिल्ने धारणा पनि राखे ।








