नेपाली भाषा र साहित्यको संवर्द्धन गर्नु नै भानुभक्तप्रतिको सम्मान हो : सभामुख

काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताएका छन् ।
सोमवार काठमाडौंमा २१३ औं भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा मात्र सिमित नराखी, त्यसलाई आत्मसात गर्दै भाषा र साहित्यलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् ।
सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिष्पर्धा र परिवर्तनशील सामाजिक संरचनाका बीच हाम्रो मौलिक पहिचान र संस्कृतिलाई जोगाउनु चुनौतीपूर्ण रहेको उल्लेख गरे । भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनस्तरसँगको सामीप्यता आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै सभामुख अर्यालले युवा पुस्तालाई नेपाली साहित्यप्रति आकर्षित गर्नुपर्ने बताए ।
उनले सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयसापेक्ष रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । भानुभक्तको सम्मानमा गरिने हरेक कार्य नेपाली राष्ट्रियताको रक्षा र मौलिकताको परिचायक हुने उनको भनाइ छ ।
सभामुख अर्यालले भने, ‘आजको दिन हामीले भानुभक्तलाई सम्झनु मात्र होइन, उहाँको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प लिनु आवश्यक छ । आधुनिक प्रविधि, विश्वव्यापी प्रतिष्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच पनि हाम्रो भाषा, संस्कृति र पहिचानलाई जोगाउनु तथा उन्नत बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो । हामीले युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ । सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ तथा भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्छ ।’
सभामुख अर्यालले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दुई श्रष्टालाई सम्मानसमेत गरे । सम्मानित हुनेहरूमा वरिष्ठ साहित्यकार महेश्वर शर्मा र संस्कृतिविद् डा. आना एम सिस्टर रहेका छन् ।








