पुराणमा सीमित मोक्षमार्ग अब बागमती सरकारले ब्युँताउँदै

काठमाडौं । करिव २ हजार ९ सय वर्षदेखि किंवदन्ती, पुराण र इतिहासका पानामा सीमित रहेको पौराणिक मोक्षमार्ग अब पुनर्जीवित हुने भएको छ । बागमती प्रदेश सरकारले शिव सर्किट परियोजना अघि बढाउँदै १० जिल्लाका ६४ प्राचीन शिवलिङ्गलाई एउटै धार्मिक सर्किटमा जोड्ने अभियान सुरु गरेको हो ।
डीपीआरअनुसार परियोजनाको कुल लागत १ खर्ब ९३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२–८३ मा सहरी विकास तथा भवन कार्यालय सिन्धुली, काठमाडौं र काभ्रेका लागि ४ करोड २० लाख बजेट विनियोजन गरी तीन गुणा स्रोत सहमति दिइएको छ । ती कार्यालयहरुबाट केही स्थानहरुमा नमुना कार्यक्रम कार्यान्वयन गर्नेगरी आवश्यक तयारी गरिएको छ । जसअन्तर्गत सिन्धुलीस्थित शिव सर्किटको प्रथम तपोभूमि यात्राको सुरुवात हुने बिन्दु आदिलिङ्ग कुशेश्वर महादेवमा ५ करोड ७६ लाख लागतको काम सुरु भएको अवस्था छ । दुम्जाको डीपीआर अनुसार करिब २४ करोड लागत अनुमान गरिएको छ ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले प्रदेश सरकारले ६४ वटा शिवलिंग १० जिल्लामा लगेर पर्यटकीय माध्यमबाट बाटो बनाइरहेको बताए । यसले पर्यटकीय माध्यमबाट आर्थिक, सामाजिक विकास हुने विश्वास व्यक्त गरे । यो काम सम्पन्न गर्न केही समय लागे पनि यसले दीर्घकालीन पर्यटकीय सम्भावनाको ढोका खोल्ने बताए । बजेट व्यवस्थापन गरेर कार्यान्वयनको चरणमा प्रदेश सरकार गइसकेको बताए ।
आर्थिक वर्ष २०८३र८४ का लागि ७ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले ६३ किलोमिटर बाटो स्तरोन्नति गर्नसके १२ महिनै चल्ने बाटोको माध्यमबाट यात्रा गर्न सकिने बताए । प्रदेश सरकारका अनुसार शिव सर्किटमा काठमाडौं २४, ललितपुर १०, भक्तपुर ९, मकवानपुर ७, काभ्रेपलाञ्चोक ६, धादिङ ३, नुवाकोट ३, सिन्धुपाल्चोक २ तथा सिन्धुली र दोलखामा १–१ शिवालय समेटिएका छन् ।
आवास तथा शहरी विकास महाशाखाका प्रमुख भूपेन्द्रकुमार यादवले इन्जिनियरिङ तथा जीआईएस अध्ययनअनुसार सिन्धुलीको आदिलिङ्ग कुशेश्वरदेखि पशुपतिनाथसम्म सर्किटको कुल लम्बाइ ९५५.२७ किलोमिटर हुने बताए । यसमध्ये ३४ किलोमिटर पुरानो पदमार्ग संरक्षण गरिनेछ भने ६३ किलोमिटर सडक स्तरोन्नति गरिने जानकारी दिए ।
यो सर्किट पूर्वाधार निर्माणको योजना मात्र नभएर स्कन्द पुराणको हिमवत्खण्डमा वर्णित करिब २९ सय वर्ष पुरानो मोक्षमार्गलाई पुनर्जीवित गर्ने प्रयास हो । पुराणअनुसार मातृगमनको महापाप र कुष्ठरोगबाट पीडित विरूपाक्षलाई ने मुनिले ६४ शिवलिङ्गको दर्शन गराउँदै पशुपतिनाथ पु¥याई पापमुक्त गराएको उल्लेख छ । यही महायात्राको पहिलो पाइला सिन्धुलीको सुनकोसी गाउँपालिका–१, नेपालथोक दुम्जास्थित आदिलिङ्ग कुशेश्वर महादेवबाट सुरु हुने धार्मिक विश्वास छ । प्राध्यापक दुर्गाप्रसाद दाहालले नेपालका ६४ ज्योतिर्लिङ्को परिक्रमा गर्दा कुशेश्वर महादेवबाट सुरु हुने बताए ।
स्थानीय नहकुल कोईरालाका अनुसार आदिलिङ्ग कुशेश्वरसँग अर्को रोचक जनविश्वास पनि जोडिएको छ । एक किसानकी कैली गाईले दैनिक कुशको झाडीमा दूध चढाउने गर्थिन् । पछि त्यही स्थानमा उत्खनन गर्दा आदिलिङ्ग प्रकट भएको विश्वास गरिन्छ । यही तपोभूमिमा भगवान् शिवले ब्रह्मालाई सृष्टिको ज्ञान दिएको, मार्कण्डेय ऋषिले चिरञ्जीवी हुने वरदान पाएको र विश्वामित्रले गायत्री मन्त्रको उत्पत्ति गरेको धार्मिक मान्यता रहेको उनले बताए ।
परियोजनाअन्तर्गत सडक, पदमार्ग, विश्रामस्थल र सूचना केन्द्र निर्माण गरिनेछ । शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख किरण कार्कीले स्थानीय ढुंगा, काठ, माटो र परम्परागत निर्माण सीप प्रयोग गर्दै ऐतिहासिक स्वरूप संरक्षण गरिने सरकारको योजना रहेको बताए । परियोजना प्रभावकारी रूपमा कार्यान्वयन भए धार्मिक सम्पदाको संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धन, ग्रामीण विकास, स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा समेत उल्लेखनीय योगदान पुग्ने देखिन्छ ।








