चीनको प्रसिद्ध ‘हुको छहरा’ मा मुख्य बाढीको सिजन शुरु

एजेन्सी । चीनको पहेँलो नदी (येलो रिभर) मा अवस्थित प्रसिद्ध ‘हुको छहरा’ मा यस वर्षको मुख्य बाढीको सिजन शुरु भएको छ । माथिल्लो तटीय क्षेत्रमा भएको भारी वर्षा र विभिन्न जलाशयहरूबाट गरिएको पानीको समन्वयात्मक निकासका कारण छहरामा जलस्तर उल्लेख्य रूपमा वृद्धि भएको हो ।

पहेँलो नदीको माथिल्लो क्षेत्रमा लगातारको वर्षासँगै वान्जियाझाइ कजस्ता प्रमुख बाँधहरूबाट पानी छोडिएपछि छहराको स्वरूप थप विशाल र गर्जनपूर्ण बनेको छ । जलस्तर बढेसँगै छहराको चौडाइ विस्तार भएको छ भने पानीको बेगका कारण उत्पन्न हुने वाष्पीकरणले वरपरको वातावरणलाई कुहिरोमय बनाएको छ ।

नदीमा बालुवा र माटोको मात्रा बढेका कारण छहराले आफ्नो विशिष्ट स्वर्ण रङ धारण गरेको छ । यो दृश्य अवलोकन गर्न यतिबेला हुको छहरा क्षेत्रमा पर्यटकहरूको आकर्षण बढेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बाढीको उच्च वेगका कारण छहराबाट निस्कने गर्जन टाढैसम्म सुन्न सकिन्छ, जसलाई हेर्न र सुन्नका लागि ठूलो संख्यामा आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् ।

चीनको सान्सी र सायान्सी प्रान्तको सीमानामा पर्ने यो छहरा विश्वकै एक मात्र पहेँलो रङको विशाल छहरा मानिन्छ । वर्षायामको सुरुवातमै जलस्तर बढ्ने भएकाले स्थानीय प्रशासनले पर्यटकहरूको सुरक्षाका लागि उच्च शतर्कता अपनाउन निर्देशन दिएको छ ।

छहरा क्षेत्रमा सुरक्षाकर्मीहरूको परिचालन बढाइनुका साथै जोखिमपूर्ण स्थानहरूमा घेराबार गरी निगरानी समेत कडा पारिएको छ । बाढी नियन्त्रण र जल व्यवस्थापनका लागि अधिकारीहरूले माथिल्लो तटीय क्षेत्रका जलाशयहरूको निरन्तर अनुगमन गरिरहेका छन् ताकि सम्भावित प्राकृतिक विपत्तिलाई न्युनिकरण गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्न सकियोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =