दक्षिण स्पेनको भीषण डढेलोमा ११ जनाको मृत्यु, १९ बेपत्ता

एजेन्सी । स्पेनको दक्षिणी अन्डालुसिया क्षेत्रमा बिहीवार दिउँसो शुरु भएको भीषण डढेलोमा परी ११ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् ।
क्षेत्रीय अधिकारीहरूले शुक्रवार यस घटनाको पुष्टि गरेका हुन् । अन्डालुसियाका क्षेत्रीय सरकारका राष्ट्रपति जुआन्मा मोरेनोका अनुसार मृतकको सङ्ख्या १२ पुग्न सक्ने सम्भावना छ । डढेलो प्रभावित क्षेत्रमा अर्को एक शव फेला परे पनि त्यसको औपचारिक सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए ।
क्षेत्रीय स्वास्थ्य तथा आपतकालीन मामिला मन्त्री एन्टोनियो सान्जले लस गालार्डोसमा लागेको यस डढेलोलाई अन्डालुसियाको इतिहासकै सबैभन्दा भयावह र अभूतपूर्व त्रासदीको रूपमा वर्णन गरेका छन् ।
मृतकहरूमा बेलायती, बेल्जियम र स्पेनका नागरिकहरू रहेको आशंका गरिए तापनि उनीहरूको राष्ट्रियता र पहिचानको आधिकारिक पुष्टि हुन बाँकी छ । आगलागीमा परी अन्य आठ जना घाइते भएका छन्, जसमध्ये चार जना गम्भीर रूपमा जलेका कारण अस्पतालमा उपचाररत छन् ।
अन्डालुसिया ११२ आपतकालीन सेवाकाअनुसार बिहीवार स्थानीय समयअनुसार अपराह्न ५ बजेदेखि डढेलो शुरु भएको थियो । उच्च तापक्रम, न्युन आद्र्रता र तीव्र हावाहुरीका कारण आगो छिट्टै छिमेकी बेदार नगरपालिकामा फैलिएको थियो ।
प्रारम्भिक अनुसन्धानले खसेको विद्युतीय तारबाट निस्किएको झिल्कोले नजिकैको वनस्पतिमा आगो सल्किँदा डढेलो शुरु भएको संकेत गरेको छ । अधिकारीहरूले डढेलो नियन्त्रणका लागि ‘अन्डालुसियन वन डढेलो आपतकालीन योजना’ सक्रिय पारेका छन् । सुरक्षाका कारण बेदार र आसपासका समुदायलाई सुरक्षित स्थानमा सारिएको छ भने झन्डै १ हजार बासिन्दालाई अस्थायी शिविरमा राखिएको छ ।
साथै ए–७ फ्री–वे र एन–३४०ए सडकका केही खण्डहरू अस्थायी रूपमा बन्द गरिएको छ । स्पेनका राजा फिलिप छैटौँ, रानी लेटिजिया र प्रधानमन्त्री पेड्रो सान्चेजले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री सान्चेजले डढेलो नियन्त्रणका लागि सैन्य आपतकालीन इकाई लगायतका सुरक्षाकर्मीहरू परिचालन गरिएको बताउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।








