अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती

एजेन्सी । फ्रान्समा जारी अत्याधिक गर्मी र तातो हावा (हिटवेभ) का कारण पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयले आफ्नो दैनिक सञ्चालन समयमा कटौती गरेको छ ।

सङ्ग्रहालय प्रशासनले शुक्रवारदेखि आगामी सोमवारसम्म सङ्ग्रहालयलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै बन्द गर्ने निर्णय गरेको हो । सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको जानकारी अनुसार अत्यधिक गर्मीका कारण जुलाई १० देखि १३ सम्म सङ्ग्रहालय नियमित साँझ ६ बजेको सट्टा अपराह्न ४ बजे नै बन्द हुनेछ ।

लुभ्रसँग आबद्ध युजेन डेलाक्रोआ राष्ट्रिय सङ्ग्रहालयले पनि सोही परिवर्तित समय तालिका पछ्याउने सङ्ग्रहालयले जनाएको छ । फ्रान्सेली मौसम विभाग मेतियो–फ्रान्स’ ले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुन महिनाको अन्त्यमा देखिएको असामान्य गर्मीपछि पुनः देशभर तापक्रम तीव्र रूपमा बढ्न थालेको छ ।

तापक्रममा भएको वृद्धिसँगै मौसम विभागले फ्रान्सका ९ वटा विभागहरूमा उच्च सतर्कता स्वरूप रेड अलर्ट र अन्य ७६ वटा विभागहरूमा अरेन्ज अलर्ट जारी गरेको छ । यसअघि जुन महिनाको अन्त्यतिर चलेको तातो हावाका कारण पनि लुभ्र सङ्ग्रहालयले जुन २४ देखि २७ सम्म आफ्नो सञ्चालन समय घटाएको थियो । सो समयमा पनि अत्याधिक गर्मीकै कारण सङ्ग्रहालय अपराह्न ४ बजे नै बन्द गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =