दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिण पूर्वका देशबाट अनलाइन स्क्याममा ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार गरेको छ ।

दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीको उद्धार गरेको हो ।

शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले असार २५ सम्म त्यहाँका स्क्याम सेन्टरबाट ८ सय ३६ जना नेपालीको उद्धार गरिएको बताए ।

जसमध्ये ७ सय ९ जना कम्बोडियाबाट, ११३ जना म्यानमार, ८ जना लाओस, ६ जना थाइल्यान्डबाट रहेका प्रवक्ता क्षेत्रीको भनाइ छ । राजदूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधि भन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिबाना मिनाहा गर्दै आएको र यस वर्ष ६ सय २ जनाको शुल्क मिनाहा गरेको जानकारी दिए ।

उनले भने ‘दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीहरूको उद्धार तथा यस विषयमा सचेतनाका लागि निरन्तर समन्वय र पहल जारी राखेका छौँ । २०८३ असार २५ सम्म त्यहाँका स्क्याम सेन्टरबाट ८ सय ३६ जना नेपालीको उद्धार गरिएको छ । जसमध्ये ७ सय ९ जना कम्बोडियाबाट, ११३ जना म्यानमार, ८ जना लाओस, ६ जना थाइल्यान्डबाट रहेका छन् । राजदूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधि भन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिबाना मिनाहा गर्दै आएको छ । यस वर्ष ६ सय २ जनाको शुल्क मिनाहा गरेको छ । हामीले अनुरोध पनि गरेका छौँ । १ मे २०२६ देखि नेपाली राजदुतावास बैंककले अनलाइन फारममार्फत विवरण संकलन गरी राहदानी हराएका सबै नेपालीलाई निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाउने कार्य पनि गरेको छ । कम्बोडियाबाट नेपाल फर्किने अनिच्छुक नेपालीका आफन्तलाई उहाँहरूलाई नेपाल फर्किन विशेष आग्रह गरेका छौँ ।’

प्रवक्ता क्षेत्रीले १ मे २०२६ देखि नेपाली राजदुतावास बैंककले अनलाइन फारममार्फत विवरण संकलन गरी राहदानी हराएका सबै नेपालीलाई निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाउने कार्य गरेको पनि बताए । कम्बोडियाबाट नेपाल फर्किने अनिच्छुक नेपालीका आफन्तलाई उनीहरूलाई नेपाल फर्किन विशेष आग्रह गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =