प्रशासनद्वारा ‘अलौकिक उपचार’ शिविर बन्द, सहभागीलाई शुल्क फिर्ता

धनकुटा। धनकुटाको पाख्रीबास नगरपालिका–४ मा सञ्चालन भइरहेको ‘अलौकिक उपचार’ शिविर जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि शुक्रवार रोकिएको छ। प्रशासनले कार्यक्रम तत्काल बन्द गराएको छ भने उपचारका नाममा सहभागीबाट उठाइएको शुल्कसमेत फिर्ता गराउन थालेको छ।
कार्यक्रम सञ्चालन गरिरहेका आफूलाई धर्मगुरु बताउने सिमान्त केसी हाल सुरक्षा निकायको नियन्त्रणमा छन्। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।
केसीले सञ्चालन गरेको उक्त शिविरलाई लिएर केही दिनयता जनस्वास्थ्य, वैज्ञानिक उपचार प्रणाली तथा कानुनी प्रक्रियामाथि प्रश्न उठ्दै आएका थिए। उपचारको नाममा सहभागीहरूसँग तेलका लागि ९० रुपैयाँ, पानीका लागि २० रुपैयाँ तथा प्रवेश शुल्कबापत ५०० रुपैयाँ लिइएको भन्दै स्थानीयवासीले गुनासो गरेका थिए।
नेपालको संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ भने जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुसार स्वास्थ्य सेवा वैज्ञानिक मापदण्ड र कानुनी प्रक्रियाअनुसार सञ्चालन हुनुपर्ने व्यवस्था छ। यही पृष्ठभूमिमा प्रशासनले कार्यक्रम रोक्दै थप अनुसन्धान अघि बढाएको हो।









