राष्ट्रको सम्पत्ति र इतिहास जलाएर आएको राक्षसी सरकार हो यो: सांसद विष्ट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा मनपरी गर्न खोजिरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद सडकबाट गरिने चेतावनी दिएका छन् ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले सरकारले सुकुम्वासी, दलित, मधेसी तथा गरिब समुदायमाथि अन्याय गरिरहेको आरोप पनि लगाए । उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई राष्ट्रको सम्पत्ति र इतिहास जलाएर आएको राक्षसी सरकारको संज्ञा दिए ।

उनले भने ‘यो सरकार, सुकुम्वासी, दलित, मधेसी र गरिबमारा सरकार हो । यो राष्ट्र जलाएर आएको राक्षसी सरकार हो जस्तो लाग्छ मलाई । जसले राष्ट्रको सम्पत्ति जलायो, देशको इतिहास जलायो । आज त्यही इतिहासको नाममा कालो चस्मा र कालो कोट लगाएर फेरी नेपाली जनतालाई एकचोटी विद्रोह गर्न बाध्य पार्ने परिस्थिति सिर्जना गर्दैछ । त्यसैले म यो सरकारको घोर भर्त्सना गर्न चाहन्छु । सुशासनको नाममा जथाभाबी गर्न खोजियो भने त्यसको प्रतिवाद सडकबाट हुनेछ । अनि एउटा डिएसीले म नेपाल सरकारको प्रहरी हुँ भन्न नपाउने ? उसले म प्रधानमन्त्रीको प्रहरी होइन भनेर भन्दै गर्दा उसलाई जिल्लामा झिकाइन्छ । यस्ता अत्याचारी क्रूर शासकका विरुद्धमा नेपाली जनता धेरै पर्खेर बस्न सक्छन् जस्तो लाग्दैन ।’

सांसद विष्टले म नेपाल सरकारको प्रहरी हुँ, प्रधानमन्त्रीको प्रहरी होइन भन्ने अभिव्यक्ति दिएकै कारण डिएसपीलाई जिल्ला तानिएकोप्रति पनि खेद व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nineteen =