सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास: सांसद शाही

काठमाडौँ । काठमाडौँको राहदानी विभाग अगाडि पार्किङ जरिवानाको विषयलाई लिएर एक युवकले आत्मदाहको प्रयास गरेको घटनाप्रति प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ ।

नेपाली काँग्रेसका सांसद खड्गबहादुर शाहीले बिहीबारको बैठकमा मुगुका २२ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासको विषय उठाउँदै दोषीमाथि कारबाहीको माग गरेका हुन् ।

सांसद शाहीकाअनुसार मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर ११ का नेपाली राहदानी बनाउन बिहान ११ बजे विभाग पुगेका थिए । सो क्रममा उनले पार्किङ गरेको मोटरसाइकलमा नगर प्रहरीले ताला लगाइ १० हजार रुपैयाँ जरिवाना तिराएपछि उत्पन्न मानसिक तनावका कारण उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

घटनामा नेपालीको शरीर करिब ९० प्रतिशत जलेको र हाल उनको वीर अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० मा अचेत अवस्थामा उपचार भइरहेको जानकारी गराइएको छ ।

सदनमा बोल्दै सांसद शाहीले भने ‘कुनैपनि जरिवाना वा प्रशासकीय कारबाही नागरिकको जीवनभन्दा ठुलो हुन सक्दैन । कानुनको कार्यान्वयन आवश्यक छ, तर मानवीय संवेदनशीलतालाई मध्यनजर गरिनुपर्छ। निजलाई आत्मदाहको अवस्थासम्म पुर्याउने दोषीमाथि कारबाही गरियोस् र यस्ता हृदयविदारक घटना दोहोरिन नदिन प्रभावकारी कदम चालियोस् ।’

सांसद शाहीले हाल सरकारले जरिवानाका नाममा जथाभाबी रकम असुल गरिरहेको आरोप लगाउँदै यसले नागरिकमा चरम निराशा पैदा गरेको बताए । उनले यस्ता प्रतिनिधि घटनाहरूले भोलि अझ भयावह रूप लिन सक्ने भन्दै अविलम्ब जरिवानाको दर घटाउन र सर्वसाधारणलाई शिरोधार्य गरेर न्यायपूर्ण व्यवस्था लागू गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =