देश चलायमान बनाउने उद्योगी हुन्, सरकार सहयोगी बन्नुपर्छ: सागर ढकाल

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले औद्योगिक क्षेत्रले मात्र मुलुकको अर्थतन्त्र चलायमान बनाउन सक्ने भन्दै सरकारको पहिलो प्राथमिकता उद्योग हुनुपर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन् ।
उनले सरकारले उद्योगको उत्पादन वृद्धिमा सहयोग गर्नुपर्नेमा जोड दिए । औद्योगिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने उनको भनाइ छ । उनले उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नसके राज्यको राजश्व उल्लेख्य रूपमा बढ्ने दाबी गरे ।
उनले भने ‘सरकार र सांसदहरूले उद्योगीहरूको उद्योगहरूमा उत्पादन वृद्धि गरिदिने कार्यमा सहयोग गर्नुपर्छ । यो काम हाम्रो हो । तर यो देशलाई आर्थिक रूपमा चलायमान बनाउने कुरा चाहिँ यो सरकार र मन्त्रीहरूभन्दा पनि उद्योगीहरूको हो । त्यसकारण हामी सबैको फस्ट फोकस चाहिँ उद्योग हुनुपर्छ । एउटा उदाहरणको लागि हामी पूर्वको एउटा फ्याक्ट्रीमा गयौँ । उहाँहरूको अहिले वार्षिक रूपमा तीन अर्ब रुपैयाँ जति हुँदो रहेछ । उहाँहरूले गएको १० वर्षमा उत्पादन र आय १० गुणाले वृद्धि गरिसक्यौँ भन्नुभयो । यदि उहाँहरूले तीन अर्बको उद्योगलाई ७०–८० करोड पुगाउन सक्यौँ भने त्यो उद्योगले कम्तीमा पनि पाँच सात अर्ब रुपैयाँ कर तिर्ने भयो नि । अनि सरकारी निकायहरूमा कार्यक्रम सञ्चालन गर्नको लागि जे जे समस्या भनिरहनुभएको छ । ती सबै समस्या त्यही एउटा उद्योगले तिर्ने करले समाधान गरिदिन्छ ।’
सांसद ढकालले औद्योगिक उत्पादन वृद्धि गर्न सरकारले नीतिगत अवरोधहरू हटाउनुपर्नेमा जोड दिए । उद्योगका उत्पादन र आय बढाउन सके त्यसबाट प्राप्त हुने राजश्वबाट मुलुकका विद्यमान कयौँ समस्याहरू हल हुनसक्ने उनको जिकिर छ ।








