संविधानको मर्ममाथि प्रश्न उठेपछि संशोधन कार्यदलबाट अलग भयौँ : नेकपा

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयार पारिएको कार्यदलबाट आफ्नो पार्टी अलग हुनु परेको स्पष्ट पारेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त स्पष्टीकरण दिएका हुन् ।
सांसद हमालले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका आधारभूत कुराहरूमा प्रश्न उठाउने गरी आफ्नो पार्टीले संविधान संशोधनको बहसमा सहभागी हुनै नसक्ने अडान समेत राखे । उनले संविधानको पूर्ण पालना गर्ने शपथसहित बनेको वर्तमान सरकारले संविधानको आधारमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाए ।
सांसद हमालले भने ‘संविधानलाई मान्छौ भनेर प्रतिज्ञा खाएर, शपथ खाएर बहाली भएको सरकार हो । यसका कुनैपनि आधारभूत कुराहरूमाथि प्रश्न उठान पाइँदैन । लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समतामूलक सहभागिता र त्यसमा हामीले राखेका कैयन मौलिक अधिकारका विषयहरू त्यति मात्रै होइन, हाम्रो मुलुक, देश, हाम्रो देशको अर्थतन्त्र समाजवाद उन्मुख हुनेछ भनेर संविधानमा लेखिएको छ । हामीले यी विषयहरूमा प्रश्न उठाउने गरी संशोधनको खाका तयार गर्न सक्दछौँ ? यसको प्रक्रिया के हो, सुरु देखिनै यसकोबारे प्रश्न उठाएका छौ । हुनुपर्दछ । राष्ट्रिय सहमतिबेगर संविधान संशोधनको प्रक्रिया अघि बढ्नसक्छ ? त्यसैले गर्दा अहिले संविधान संशोधन सम्बन्धी त्यो डकुमेन्ट लेख्नका लागि तयार गरिएको कार्य दलबाट मेरो पार्टी त्यसमा अलग हुने म सादर अनुरोध गर्न चाहन्छु । अब हामी त्यो प्रक्रिया जुन अपारदर्शी छ, त्रुटिपूर्ण छ । जसले संविधानको मर्ममाथि प्रश्न उठाउन खोज्छ, त्यो प्रक्रियामा हामी संलग्न हुँदैनौ । यसको मतलब हामी संशोधनसँग सरोकार नै राख्दैनौ भन्ने होइन ।’
सांसद हमालले संविधान संशोधन राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढ्न सक्ने धारणा समेत राखे ।








