साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष् गजुरेलले आगामी नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट तथा कार्यक्रम कार्यान्वयनमा तदारुकता देखाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद गजुरेलले बजेट र कार्यक्रम सदनबाट पारित भइसकेको सन्दर्भमा अब सरकारको पूर्ण ध्यान प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए । आगामी साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुन लागेको उल्लेख गर्दै उहाँले सोही दिनदेखि नै विकास आयोजनाका बोलपत्र (टेण्डर) आह्वान हुनुपर्नेमा जोड दिए ।

उनले सरकारलाई स्पष्ट कार्ययोजनाका साथ अघि बढ्न सुझाव दिँदै पुँजीगत खर्चको कमजोर अवस्थाप्रति चिन्ता व्यक्त गरे । स्पष्ट योजनाविना काम गर्दा आर्थिक वर्षको अन्त्यमा न्यून पुँजीगत खर्च हुने र त्यसले जनतामा नकारात्मक सन्देश जाने उनको तर्क छ ।

उनले भने ‘साउन १ गते गोरखापत्रका पानाहरू विकास निर्माणका टेण्डरले भरिनुपर्छ, आवश्यक परे पाना थप गरेर भए पनि सूचनाहरू प्रकाशित हुनुपर्छ । यसो भएमा मात्र पुँजीगत खर्च वृद्धि गर्न र विकासका योजनाहरूलाई गति दिन सम्भव हुन्छ । यदि स्पष्ट कार्ययोजना नबनाउने र विगतमा जस्तै ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको विवरण प्रस्तुत गर्ने हो भने हामी जनतासामु जबाफदेही हुन सक्दैनौँ ।’

सांसद गजुरेलले बजेट कार्यान्वयनको प्रक्रियालाई सुरुवाती दिनदेखि नै व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =